• १३ असोज २०८१, आइतबार

यु-१९ क्रिकेट टोली स्वदेश फिर्ता

blog

दक्षिण अफ्रिकामा भएको एक दिवसीय क्रिकेटमा सहभागी भई नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता ।

काठमाडौं, माघ २२ गते । दक्षिण अफ्रिकामा भएको एक दिवसीय क्रिकेटमा सहभागी भई नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो । समूहचरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै सुपरसिक्समा बङ्गलादेश र भारतसँग पराजित भएको हो ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताउनुभयो । उहाँले नयाँ–नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताउनुभयो । विश्वकप एउटा सपना हुनेभन्दै उहाँले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने भनाइ राख्नुभयो ।

कप्तान खनालले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रस्तुति समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुति भने बलिङमा राम्रो भए पनि ब्याटिङमा राम्रो हुन नसकेको जिकिर गर्नुभयो । उहाँले गुल्शन झा नेपालका लागि कस्तो खेलाडी हो ? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरू राम्रो खेली नै रहन्छन् भन्ने नहुने बताउनुभयो । उहाँले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठुलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नयाँ नयाँ खेलमा नयाँ कुरा सिकिन्छ, त्यो कुराहरू सिक्दै गइरहेका छौँ । विश्वकप भनेको एउटा सपना हुने रहेछ । ब्याटिङमा अलि राम्रो भइदिएको भए यो भन्दा राम्रो गर्न सकिन्थ्यो । आकाश, सुवास, अर्जुनले राम्रो खेले । सधैँ राम्रो हुन्छ भन्ने हुँदै क्रिकेटमा । गुल्शनको राम्रो भएन । बलरमा राम्रो भयो उसको, ब्याटिङमा भएन । तर गुल्शन कस्तो खेलाडी हो भन्ने सबैलाई थाहा छ । कमब्याक पर्मानेन्ट कमब्याक जस्तो होस् बल्ल खुसी मिल्छ ।’’

त्यस्तै, गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताउनु भयो । उहाँले बलिङमा राम्रो भए पनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको जिकिर गर्नुभयो । खेलमा सधैँभरि राम्रो नै हुन्छ भन्ने नसकिने र उतारचढाव भइरहने बताउनु भयो । समग्रमा विश्वकपबाट अनुभव लिएको बताउनुभयो ।

त्यस्तै, आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताउनुभयो । उहाँले सुपर सिक्समा पुग्नु नै देश र आफूहरूका लागि राम्रो कुरा भएको बताउनुभयो ।

त्यस्तै सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताउनु भयो । उहाँले खेलबाट धेरै कुराहरू सिक्ने अवसर पाएको बताउनुभयो ।

यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनीबाट खुसी रहेको बताउनुभयो । उहाँले विश्वकप समग्रमा राम्रो भएको बताउनुभयो । उहाँले यु १९ टिममा राम्रा खेलाडीहरू भएकाले आगामी दिनमा नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

प्रशिक्षक टमाटाले भन्नुभयो, ‘‘समग्रमा विश्वकप एकदमै राम्रो भयो । फ्यानहरूले एकदम सपोर्ट गरेको थियो । यु १९ टिमले एकदमै राम्रो खेल्यो । यो मेरो लागि र नेपालको क्रिकेटका लागि एकदमै खुसीको कुरा हो । वर्ल्डकप क्वालिफायर्स महत्त्वपूर्ण थियो, त्यो हामीले पार गरेका छौँ । विश्वकप जोर्नी टिम, मेरो र नेपाली क्रिकेटका लागि राम्रो हो । सबै सदस्य त्यति नै महत्त्वपूर्ण हुन्छन् । आफ्नो दिन भएकाले राम्रो खेले । ब्याटिङमा गुल्शनको राम्रो हुन सकेन, उसको ब्याड लक नै हो । उसले धेरै कुरा सिकेको छ । आगामी दिनमा राम्रो गर्नसक्छ ।’’

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।