देउखुरी समाचारदाता
देउखुरी, माघ २२ गते । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
प्रमुख शेरचनले नेपालमा अहिले पनि भ्रष्टाचार भइरहेको स्पष्ट भएको चर्चा गर्दै अन्तर्रास्ट्रिय निकायको अध्ययनले त्यो देखाइरहेकाले यसलाई शून्यमा लैजाने आँट सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भन्नुभयो, “अहिले काम नगर्ने, पसिना नै नबगाउने बानी हाबी भयो । पहिलेको र अहिलेको तुलना गर्नै नसक्ने अवस्था छ ।”
प्रदेश प्रमुख शेरचनले नेपालको पुरानो मौलिक मान्यतालाई स्थापित गर्दै जाँदा सङ्घीयता कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले पनि सङ्घीयताको पूर्ण कार्यान्वयन नभएको चर्चा गर्दै सङ्घीयता र गणतन्त्र स्थापित गर्ने कार्यमा सरकार र प्रदेश सभाको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म अनुसार सङ्घले प्रदेशलाई आवश्यक अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्दै सबैको सहयोग र सहकार्यले मात्र संविधान र सङ्घीयता कार्यान्वयनमा सफलता प्राप्त हुने बताउनुभयो ।
कार्यक्रममा सिर्जनशील पत्रकारिता पुरस्कारबाट १२ जना र अग्रज पत्रकारिता पुरस्कारबाट एक जनालाई पुरस्कृत गरिएको थियो । सोही क्रममा गोरखापत्र नेपालगन्ज समाचारदाता सिराज खान, रुकुमपूर्व समाचारदाता जयमान बुढालगायत पुरस्कृत हुनुभएको थियो ।
प्रदेश सरकारले स्थापना दिवसका दिन आइतबार प्रदेशभर सार्वजनिक बिदासमेत दिएको थियो । प्रदेश स्थापनाको यो अवधिमा प्रदेश सभाबाट ऐन निर्माण गर्नेदेखि सरकारले जनसरोकारको पक्षमा काम गरिरहेको जनाएको छ तर सङ्घीयता बलियो बनाउने गरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुन पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् ।
हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसका रूपमा मनाइँदै आए पनि यस वर्ष दुई वटा दिवसलाई एकै दिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवस मनाउन थालिएको जनाइएको छ ।