• १३ मंसिर २०८१, बिहिबार

अस्तित्व सकिएपछि ग्रामथान खोजिँदै

blog

नवराज कट्टेल

विराटनगर, माघ २२ गते । आदिवासीले कुलपूजा  गर्ने ग्रामथानको अस्तित्व मासिएपछि त्यसको खोजी सुरु भएको छ । ग्रामथान मासिँदै गएर फरक प्रयोजनका स्थायी संरचना बनेपछि परापूर्वकालदेखि कुल देउताको पूजा गरिँदै आएका स्थानको खोजी सुरु गरिएको हो । 

ग्रामथान अतिक्रमणमा परेर अस्तित्व सकिएपछि खोजी गर्ने र संरक्षणमा लाग्न राजवंशी समुदायले सङ्गठित अभियान सुरु गरेका हुन् । ग्रामथान मासिए र नयाँ किसिमका संरचना बनेपछि यी स्थानको खोजी र संरक्षणका लागि सङ्गठित बन्ने र कानुनी उपचार खोज्ने बाटो सुरु गरिएको हो । 

ग्रामथान संरक्षण समिति विराटनगरका अध्यक्ष तिलक राजवंशीका अनुसार ग्रामथान अतिक्रमण भएर अहिले विद्यालय, सङ्घ संस्था, मन्दिर त कतिपय स्थानमा व्यक्तिका घरसमेत बनेका छन् । पुर्जामा देखिने यस्ता ग्रामथान मासिन नदिनका लागि कानुनी रूपमै उपचार खोजिएको अध्यक्ष राजवंशीको भनाइ छ । उहाँका अनुसार मोरङमा मात्रै ४० वटा ग्रामथान अतिक्रमणमा परेका छन् । 

मोरङका सबै स्थानीय तहमा भएका ग्रामथानको लगत सङ्कलनसमेत सुरु गरिएको मोरङका अध्यक्ष चन्द्रप्रकाश राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ग्रामथान भएको स्थान पहिचान गर्ने, त्यसको कानुनी उपचारका लागि आवश्यक पर्ने कागजात जुटाउने कार्यका लागि स्थानीय तह स्तरमा समिति बनाउने काम सुरु गरिएको छ । 

मोरङका अध्यक्ष चन्द्रप्रकाशका अनुसार कुनै कुनै स्थानीय तहमा दुई÷तीन स्थानमा ग्रामथान थिए तर ती अतिव्रmमण भएर फरक प्रयोजनका संरचना बनेका छन् । उहाँका अनुसार विराटनगरमा राजवंशी टोल, राजवंशी चोकमा अहिले पनि राजवंशी समुदायको बाहुल्य छ । जिल्लाभर राजवंशी समुदायको बाहुल्य भएका धेरै स्थान रहेका छन् । उनीहरूले कुलदेवताको पूजा गर्ने स्थानको भने अहिले अभाव हुँदै गएको छ । 

ग्रामथान अतिक्रमण गरेर नयाँ संरचना बनेका स्थानमा पुनः ग्रामथान फर्काउने अभियान मोरङ, सुनसरी र झापामा चलाइने भएको हो । कोच (राजवंशी) को बसोबासको मुख्य स्थान झापा र मोरङमा रहेको बताउँदै अध्यक्षले सिरुवा, ददिकाधो पर्व, फगुवा र तिहार प्रचलित रूपमा मनाउने गरेको जानकारी दिनुभयो । केही पर्व सामूहिक रूपमा मनाउँदा ग्रामथानमा भेला हुनुपर्ने मान्यतासमेत अहिले हराउँदै गएको छ ।