• १३ असोज २०८१, आइतबार

आइटिएफमा सुस्मिता र रिक्साङ च्याम्पियन

blog

महिलातर्फ उपाधि विजेता खेलाडी ।

काठमाडौँ, माघ २१ गते । नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन बन्नुभएको छ । रामेछाप आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा भएको प्रतियोगितामा सुस्मिता महिलामा र रिक्साङ पुरुषतर्फ च्याम्पियन बन्नुभएको हो । 

सुस्मिता र रिक्साङले च्याम्पियन ट्रफीका साथै ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । सुस्मिताले फाइनलमा कोसी प्रदेशकी कुसुम राजवंशीलाई र रिक्साङले आयोजकका निर्मल लामालाई पराजित गर्नुभएको थियो । दोस्रो स्थानमा सीमित कुसुम र निर्मलले ४० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

पुरुषतर्फ नेपाल पुलिस क्लबका श्रीप्रसाद बुढा र महिलामा आर्मीकी निकिता धिमाल तेस्रो हुनुभयो । तेस्रो हुने दुवैलाई जनही ३० हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितामा आयोजक, सात प्रदेशका साथै तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीले छनोटबाट समान दुई पुरुष र दुई महिला खेलाडी मात्र प्रतिस्पर्धा गराउन पाउने प्रावधानअनुरूप प्रतिस्पर्धा गराइएको थियो । 

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एवम् दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासङ्घका उपाध्यक्ष अन्जन धमला, नेपाली राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट र नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले गर्नुभएको थियो ।