• १३ साउन २०८१, आइतबार

सरकारले क्यान्सर रोग नियन्त्रणका लागि कुनै कसर बाँकी राख्दैन : स्वास्थ्यमन्त्री बस्नेत

blog

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, माघ २१ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ। 

आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्नुभयो। यसको नियन्त्रणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 

उहाँले क्यान्सर न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो। मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लड्ने आधार तत्काल तयार पार्न मातहतका निकायलाई सचेत गराउनुभयो। उहाँले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाइ नहुने समेत स्पष्ट पार्नुभयो।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘क्यान्सर रोगलाई यो देशबाट न्यूनीकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै  भन्न सक्दैनौँ। न्यूनीकरण र नियन्त्रण गर्दै जाने कुरामा धेरै ठुलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु। यसमा हामी आ–आफ्नो क्षेत्रबाट जे सक्छौँ, जति सक्छौँ जिम्मेवारी निर्वाह गर्नुपर्छ। नेपालले क्यान्सर रोगविरुद्ध लड्नका लागि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। त्यसको निम्ति जग तयार पार्नेछ। त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोगविरुद्ध लड्नेछौँ। यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी हुनेछैन। मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु।’’

मन्त्री बस्नेतले सरकारले क्यान्सर रोग विरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने बताउनुभयो।