• २१ वैशाख २०८१, शुक्रबार

उपप्रधानमन्त्री खड्कासँग उपनिर्वाचन सम्बन्धमा आयोगको छलफल

blog

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया । तस्बिरः उपप्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, माघ २१ गते। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले  रिक्त रहेका विभिन्न २५ पदमा  हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने  उपनिर्वाचनका विषयमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य र रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ।

विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो। निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा एक–एक पद रिक्त छ। इलाम निर्वाचन क्षेत्र–२ बाट निर्वाचित नेकपा (एमाले) का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं. १ प्रदेश १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो। 

आयोगका अनुसार हाल प्रतिनिधि सभा सदस्यमा एक, प्रदेश सभा सदस्यमा एक,  जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र विभिन्न पालिकाका १७ वडाका अध्यक्ष  २५ रिक्त पद छन्। ती पदमा उपनिर्वाचनका लागि आयोगले उपप्रधानमन्त्री खड्कासँग आवश्यक छलफल गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।