चित्र मिजार
सिन्धुपाल्चोक, माघ २१ गते । विगत १३ वर्षदेखि अलपत्र अवस्थामा रहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको काम सुचारु भएको छ ।
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादनपश्चात् सरकारलाई ६२ करोड रुपियाँ तिर्ने गरी आयोजना सकारेपछि अलपत्र आयोजनाको काम सुचारु भएको हो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निर्माणको एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको छ । ४.०५ मेगावाट क्षमता रहेको आयोजनाको तीन हजार तीन मिटर लम्बाइको सुरुङ निर्माण हुनुपर्नेमा सोमध्ये दुई हजार चार मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको थियो ।
बाँकी सुरुङ निर्माणका काम सुरु भएको छ । उक्त सुरुङमा विस्फोट पदार्थ प्रयोग गरी निर्माणको काम पुनः सुचारु गरिएको नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिनुभयो ।
२०६८ सालदेखि निर्माण कार्य छोडिएको उक्त आयोजना २०८२ सालसम्म निर्माण कार्य सक्ने गरी काम सुरु गरिएको हो । उक्त आयोजना सम्पन्न हुन प्रतिमेगावाट २५ करोड रुपियाँ लागत लाग्ने अनुमान रहेको छ । आयोजनाबाट मेलम्ची नगरपालिकाको ७, ८, ९, १० र ११ नम्बर वडाका स्थानीय बढी प्रभावित हुने कम्पनीले जनाएको छ ।
उक्त हाइड्रोले केही समयअघि प्रारम्भिक वातावारणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । विद्युत् विकास बोर्डसँग ३० वर्षे उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कुल लागत ११० करोड रुपियाँ रहेको कम्पनीका अध्यक्ष पाण्डेले बताउनुभयो । निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैङ्कसँग ऋण सम्झौता भएको आयोजनाले जनाएको छ ।