• १३ साउन २०८१, आइतबार

भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण

blog

जिल्ला अस्पताल,भोजपुर । फाइल तस्बिर

भोजपुर, माघ २० गते । जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।

आठ परिवार बस्नेगरी निर्माण भएको आवास भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताललाई शुक्रबार हस्तान्तरण गरेको छ । भवन ब्राइट वुल-युडी जेभीले निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको काम २०७८ भदौदेखि सुरु गरिएको थियो । एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कोभिडलगायत विभिन्न कारणले नौ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ । तोकिएको मापदण्डअनुसार गुणस्तरीय तवरबाट भवन निर्माण गरेको युडि विल्डर्स निर्माण कम्पनीका प्रमुख उत्तम खड्काले बताउनुभयो । 

तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम गरेको भए पनि कोभिडका कारण नौ महिना म्याद थप्नुपरेको उहाँको भनाइ छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कामु आयोजना प्रमुख सुमनकुमार मिश्रले जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल थुलुङलाई भवन हस्तान्तरण गर्नुभएको हो । 

नर्सिङ आवास भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पतालका प्रमुख डा.शिवजी रिजालले बताउनुभयो । आवास भवन नहुँदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसला थपेको उहाँको भनाइ छ । “नर्सिङ आवास नहुँदा सेवा प्रवाहमा धेरै कठिनाइ थियो”, प्रमुख रिजालले भन्नुभयो, “आवास नहुँदा बाहिर बस्नुपर्ने भएकाले रातको समयमा धेरै समस्या थियो, अब भने बिरामीलाई सेवा प्रवाह गर्न थप सहजता भएको छ ।” 

भवन निर्माणले अस्पतालको सेवा प्रवाहमा सहजता थपेको जनाउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भावी दिनमा यसको व्यवस्थापनका लागि अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताउनुभयो । भवन निर्माण सेवा प्रवाहमा थप सहजता भएको उहाँको भनाइ छ । रासस