• ६ माघ २०८१, आइतबार

राजविराज–रुपनी सडक चार लेनको बनाउन सुरु

blog

सप्तरीको राजविराजदेखि रुपनीसम्मको सडक ‘चार लेन’ मा स्तरोन्नतिको कार्य हुँदै । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव
सप्तरी, माघ २० गते ।
 सप्तरीको राजविराजदेखि रुपनीसम्मको सडक ‘चार लेन’ मा स्तरोन्नतिको कार्य  भइरहेको छ । सो कार्यका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य समेत सुरु गरिएको छ ।

रुपनी बजारबाट सदरमुकाम राजविराजसम्म जोड्ने १० किलोमिटर सडक फराकिलो बनाउने काम सुरु भएको राजविराज नगरपालिकाका काबा नगर प्रमुख इसरत परविनले जानकारी दिनुभयो ।

लामो समयको प्रतीक्षापछि दुई लेनको सडक स्तरोन्नति गरी चार लेनको बनाउन लागिएको हो ।

तीन अर्बको अनुमानित लागतमा उक्त सडकखण्ड निर्माण कार्यका लागि हाल ५५ करोडको बोलपत्र स्वीकृत भइसकेको सडक डिभिजन कार्यालय लहानका इन्जिनियर रमेश गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार ३० मिटर चौडा सडक तथा १९ मिटर कालोपत्र, फुटपाथ, सोल्जर र मिडियासमेत रहने छ ।

२०७८ चैत ९ गते राजविराज–रुपनी  चार लेन सडकखण्डको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु कुमारी यादवले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो ।