• १० मंसिर २०८१, सोमबार

अविवाहित (कथा)

blog

त्यस बखतको कुरा हो, जब देव कलेजमा पढ्थ्यो । त्यतिखेर अहिलेका विद्यार्थी जसरी बाइक चढेर कलेज जाने चलन थिएन । हिँडेर वा पब्लिक बस चढेर कलेज जानुभन्दा अर्को विकल्प थिएन । अहिले जस्तो टुटल वा इनड्राइभर पनि त थिएन । 

अहिले देव शरीर तन्दुरुस्त राख्न दिनमा सात/आठ किलोमिटर हिँड्थ्यो । कहिले कता, कहिले  कता । यात्रा सुरु गर्दा सानो पछाडि भिर्ने झोला, झोलाभित्र पानीको बोतल, एउटा किताब, नोटबुक, डट्पेन पनि राख्ने गथ्र्यो ।  असोजको महिना थियो । न त गर्मी न त जाडो नै थियो । कहिले छायाँतिर, कहिले घामतिर गर्दै देव पैदल हिँड्न थाल्यो । बाटाका दृश्यहरू हेर्दै मनमा बितेका कुरा सम्झँदै ऊ अगाडि बढिरह्यो । 

उसको कलेजमा पढ्ने एउटी केटी साथी– नाम थियो पल्लवी । कक्षामा विकास देवको मिल्ने अर्को साथी थियो । विकाससँग पल्लवीले देवका बारेमा निकै सोधखोज गरेको उसले देवलाई बताउँथ्यो र जिस्क्याउँथ्यो पनि । देव भने मनमनै रमाउँथ्यो । त्यो उमेर पनि त्यस्तै थियो सत्र–अठारकोे । पल्लवी राम्रो अनुहारकी, ठुलाठुला आँखा, अग्ली, सर्लक परेकी, मिलेको नाक, सुन्दर लामा औँलाहरू, कपालबिचमा सिउँदो काटी एक चुल्ठा बाटेकी, गुलाबी ओठ र गाला । पल्लवी देवलाई पनि असाध्यै मन परेकी थिइन् । 

एक दिन देव कलेज जाँदै थियो । अलि पर पल्लवी अघि अघि हिँडिरहेकी थिई । ऊ पनि पल्लवीलाई पछ्याउन अघि बढ्यो । पल्लवीसँग उसलाई कुरा गर्न मन लागेको थियो तर पल्लवीलाई देवले भेट्टाउन सकेन । उनी कलेजभित्र छिरिहालिन् । ऊ पनि केही बोल्न नपाई कलेजभित्र गयो ।

त्यसै दिन कलेज छुट्टी भएपछि पल्लवी उनका दुई साथीसँग कलेजबाट निस्किइन् । देव भने उनीहरूको पछि पछि लाग्यो । देवलाई पल्लवीसँग भेटेर एक्लै मनका कुरा गर्नु थियो तर पल्लवीका दुई साथी भएकाले देवलाई आफ्ना मनका कुरा गर्न असजिलो भयो । उनीहरू अघिअघि देव पछिपछि   हिँडिरह्यो । केही बेरपछि एउटी साथी पल्लवीसँग छुट्टिई । फेरि पल्लवी र उनकी साथी अगाडि बढे । 

त्यसबेला देव विचार गर्न थाल्यो, अर्की साथीले पनि पल्लवीलाई छोडिन् भने त उनीसँग कुरा गर्न सहज हुने थियो । त्यसैले देव अझै पछि लाग्दै गयो । केही समयपछि पल्लवीकी अर्की साथी पनि छुट्टिई । अब पल्लवी एक्लै थिई । ऊ पल्लवीभन्दा केही कदम पछाडि नै थियो । देव पल्लवीलाई भेट्टाउन छिटो छिटो हिँड्न थाल्यो । ऊ पछ्याइरहेकै थियो तर पल्लवी एउटा घरको कम्पाउन्डभित्र छिरिन् । माथि कौसीमा एक अधबँैसे महिला थिइन् । पल्लवीलाई देख्नेबित्तिकै उनले घरको मूलढोका आई खोलिन् । पल्लवी भित्र गइन् । आजको पल्लवीसँग कुरा गर्ने उसको योजनाको तुषारापात भयो ।

पल्लवीको स्मृतिहरू बारम्बार देवको मानसपटलमा आउँथ्यो । ती स्मृति आउँदा उसलाई रमाइलो लाग्थ्यो भने ती स्मृतिले उसलाई पीडा पनि दिन्थ्यो । उसले आफूले जिन्दगीभर चाहने साथी उसको जीवनमा थिइनन् । कसैको जीवन रङ्गिन बनाएर घरजम गरिरहेकी होलिन् झैँ देवलाई लाग्दथ्यो । नदेखेको पनि धेरै वर्ष भयो । कस्ती भई होलिन् । देवले आफ्ना मनका कुरा उनीसँग राख्न नखोजेको पनि होइन तर समयले साथ दिएन । 

कलेजको अन्तिम वर्ष थियो, देवको आमा एक्कासि बिरामी पर्नुभयो । कलेज जानुको सट्टा ऊ अस्पताल धाउन थाल्यो । उपचार धेरै दिन चल्यो तर उपचारले काम गरेन । देव टुहुरो भयो । देवको कलेज अनुपस्थितिले पल्लवी निकै चिन्तित थिइन् र त्यो बखत पल्लवीले देवका बारे धेरै सोधखोज गरिन रे भनेर विकासले उसलाई भेटेको बखत भनेको थियो । कलेज सकिएपछि देवले पल्लवीसँग भेट्न कोसिस नगरेको पनि होइन ।  पल्लवी जुन घरमा बस्दथिन्, त्यही घरको वरिपरि ऊ बरालिन थाल्यो । धेरै दिनसम्म बरालिँदा पनि पल्लवीसँग उसको भेट हुन सकेन । एक दिन आँट गरेर ढोकाको घन्टी बजायो । भित्रबाट एक जना मानिस आयो । उसले पल्लवीलाई डाकिदिनुस् भन्यो । मानिसले उनीहरू त यहाँबाट अन्तै गए भन्यो । देवले कहाँ गए भनेर सोध्यो । उसले देवलाई बताउन सकेन ।

मनमा यस्ता पुरानो कुरा सम्झेर हिँड्दा हिँड्दै ऊ उत्तरतिरको डाँडाको फेदीमा पुग्यो । आकाश निलो थियो । आकाशमा सेता बादलका टुक्राहरू थिए । त्यही बादलका टुक्रामा देवले एउटा स्त्रीको आकृति देख्यो ठिक पल्लवी जस्तै । ऊ नजिकको चौतारीमा गएर थचक्क बस्यो र त्यही पल्लवीको आकृति हेर्न थाल्यो । ऊ मनमनै भन्दै थियो, “अहो ! पल्लवी तिमी कहाँ हौली, आज तिम्रो यादले मलाई धेरै सतायो ।” 

देव अझै एकनास आकाशमा हेर्दै थियो । हावा चल्न थाल्यो । बिस्तारै बादलमा बनेको पल्लवीको आकृति बिग्रियो । त्यो पल्लवीको आकृति हेरेर उसको आँखा अघाउनै सकेन । देव चौतारीबाट उठी आफ्नो बाटो लाग्यो । अलि माथि बुढानीलकण्ठ नारायण पानीमा लमतन्न परी सुतेका थिए । ऊ त्यतैतिर लम्कियो । 

भगवान् नारायणलाई ‘जय नारायण’ भन्दै दाहिने पारि घुम्यो अनि नजिकै रहेको रुखमुनि आएर बस्यो । उसले आफ्नो झोलाबाट पानीको बोतल निकाली पानी पियो । त्यसपछि डायरीमा केही लेख्न थाल्यो । ऊ रुखको छायाँमा सुस्ताएर कल्पनाको भूमरीमा रुमलिन थाल्यो । पुराना स्मृतिले उसलाई गाँज्दै लग्यो । निकै बेर त्यही स्थानमा उसले कल्पनाको उडान भ¥यो । धेरै बेर बसेपछि देव फर्कने सुरसार गर्न थाल्यो । 

देव उठेर के हिँड्न मात्र लागेको थियो । उसले ऊ भएतर्फ, एक महिला आउँदै गरेको देख्यो । टाढैबाट कताकता उसको हिँडाइ, चलाइ र अनुहार पहिले कतै देखेको जस्तो देवलाई लाग्यो । उनी नजिकै आइन् । दुवैको आँखा जुध्यो । दुवै मुस्कुराए । देवले एक्कासि ‘पल्लवी !’ भनी सम्बोधन ग¥यो । पल्लवी पनि आश्चर्यमा परिन् । यी दुई त्यही रुखमुनि बसी कुरा गर्न थाले । 

देव – के छ पल्लबी ।

पल्लवी – ठिक छ तिम्रो नि !

देव : मेरो पनि ठिक छ । तिम्रो बसाई कता छ ?

पल्लबी : यहीँ अलिकति माथि छ ।

देव : ए घर यतै हो । तिमीलाई म धेरै सम्झन्थेँ ।

पल्लवी : म पनि सम्झन्थेँ नि ।

देव : यत्रो दिन कसरी भेट नभएको होला ?

पल्लबी : खै कसरी भनूँ । कलेज छोड्नेबित्तिकै मेरो विवाह भयो । त्ससपछि त के भयो, भयो ?

देव : तिम्रो श्रीमान् के गर्नु हुन्छ ?

पल्लवी : उसको कुरै नगरौँ ।

देव : किन के भयो ?

पल्लवी : कहिल्यै सुख दिएन । जँड्या बितिसक्यो ।

देव एकोहोरो पल्लवीको अनुहारमा हेर्न थाल्यो । गोरो अनुहारमा चमक थियो, तर गुलाबी ओठ र गालामा फिकापन । सिउँदो र कन्सिरीको रौँ केही सेता भएका थिए । तैपनि देवलाई पल्लवी पहिले झैँ मनमोहक नै लाग्यो । केहीबेर उनीहरूमा मौनता छायो । मौनता भङ्ग गर्दै पल्लवी मुस्कुराउँदै बोल्न थालिन् । 

पल्लवी : देव ! तिम्रो हाल बताउन ।

देव : मेरो हाल ठिकै छ ।

पल्लवी : तिम्री श्रीमती कति भाग्यमानी, तिमी जस्तो श्रीमान् पाइन् । तिमी त जाँडरक्सी केही खाँदैनौ नि हगि ।

देव : तिमीले कसरी थाहा पायौ ? म केही खान्नँ भनेर ।

पल्लवी : मलाई थाहा छ नि तिम्रा सबै कुरा । त्यसैले त मैले तिमीलाई मन पराएको थिएँ । 

देव : तिमीले मलाई किन भनेनौ त ?

पल्लवी : मैले लेखेको थिएँ नि पत्रमा । विकासले तिमीलाई त्यो पत्र दिएन ?

देव : अहँ, उसले दिएन नि ।

दुवै मौन भए । विकास कस्तो विश्वासघाती रहेछ भनेर देवले सम्झियो । अब के गर्ने ती दिन फर्कंदैनथ्यो । पल्लवी पनि अचम्मित भइन् । कस्तो रहेछ विकास । दिन्छु त भन्थ्यो तर विश्वासघाती । 

पल्लवी : देव ! तिम्रो श्रीमती छोराछोरीका बारेमा बताऊ न ।

देव : म त अविवाहित । बिहे नै गरिन नि !

पल्लवी : किन नगरेको त बिहे ?

देव : मन पराएकीलाई नभेट्टाएपछि के गर्ने त !

यो भेट अनौठो थियो । मौनतासँगै, एकअर्काको आँखा जुध्यो । आँसुले टिलपिल भरिएका दुवैका आँखाले एकअर्कालाई धेरै बेर हेरिरहे ।   

Author

विमलेन्द्र मिश्र