• १३ असोज २०८१, आइतबार

उपत्यकामा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

blog

रुकुमपूर्व भूमे गाउँपालिका१ स्थित पहाडी भेगबाट गाउँ नजिक भेडीगोठ सार्दै रुकुम पूर्व लुकुमका स्थानीय भेडा पालक किसान। तस्बिर: कुलदीप न्यौपाने/रासस

विष्णु पाण्डे/काठमाडौं

अमृतप्रसाद पौडेल/मुस्ताङ 

काठमाडौं, माघ १८ गते । काठमाडौँ उपत्यकामा बिहीबार अपराह्न छिटफुट वर्षा भएको छ । काठमाडौँ र ललितपुरका अधिकांश स्थानमा छिटफुट वर्षा भएको मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उपत्यकामा राति भने पानी पर्ने सम्भावना छैन । रातिदेखि उपत्यकाको मौसम खुल्दै जाने उहाँको भनाइ छ । 

पश्चिमी वायुको प्रभावले देशका पश्चिमी भागमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा बुधबार रातिदेखि नै हिमपात भइरहेको छ ।

हिउँ पन्छाईदै : रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक खण्डमा बिहीबार हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाईदै। तस्बिर : कुलदीप न्यौपाने, रासस

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकामा कति मिलिमिटर पानी पर्‍यो भन्ने यकिन भने भएको छैन। उहाँले भन्नुभयो , “उपत्यकामा कति मिलिमिटर पानी प¥यो भन्ने अहिले नै रेकर्ड भएको छैन । तर, छिटफुट पानी परेको जानकारी प्राप्त भएको छ ।” 

रातिदेखि उपत्यकाको मौसम खुल्दै जाने सम्भावना रहेको उहाँको भनाइ छ ।  पश्चिमी वायुको प्रभावले देशका पश्चिमी भागमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा बुधबार रातिदेखि नै हिमपात भइरहेको छ । 

सबैभन्दा बढी पानी डडेलधुरामा पर्‍यो

पश्चिमी वायुको प्रभावका कारण डडेलधुरामा सबैभन्दा बढी पानी परेको छ । मौसमविद् झाका अनुसार डडेलधुरामा ३२‍.८ मिलिमिटर पानी परेको छ । 

यस्तै कालीकोटमा २४.६ मिलिमिटर पानी परेको छ भने डोटीमा २३ मिलिमिटर पानी परेको झाले बताउनुभयो । दैलेखमा १५.४ मिलिमिटर पानी परेको रेकर्ड मापन भएको छ । 

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको झाले बताउनुभयो।

उच्च हिमाली क्षेत्रमा हिजो रातिदेखि नै हिमपात जारी रहेको उहाँ बताउनुहुन्छ । हुम्लाको  सिमिकोट, मुगुको ताल्चा विमानस्थल अखासपास, रुकुमपूर्वको माथिल्लो भेगका साथै उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको मौसमविद् झा बताउनुहुन्छ । 

मुस्ताङमा हिमपात, चिसो बढ्दा जनजीवन कष्टकर

गोरखापत्रका मुस्ताङ समाचारदाता अमृतप्रसाद पौडेलका अनुसार, हिमालपारीको जिल्ला मुस्ताङको अधिकांश क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । 

सदरमुकाम जोमसोम भन्दा माथिल्लो भेकमा हिमपात भएको र अझै केही समय हिमपात हुन सक्ने अनुमान गरिएको छ । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार उपल्लो भेकमा हिमपात भएको भएपनि सदरमुकाम भन्दा तलको क्षेत्रमा भने खासै हिउँ परेको छैन । 

जोमसोम भन्दा माथिका बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा हिमपात भै रहेको छ । 

सबैलाई सुरक्षित रहन भनिएको र कुनै केही समस्या भएको खण्डमा तत्कालन खबर गर्न आग्रह गरेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘सबै सुरक्षा निकाय र स्वंसेवकलाई पनि चनाखो राखिएको छ, केही अप्ठेरो भै हालेको खण्डमा तत्काल रेस्क्युका लागि सबै सुरक्षा अंगहरु तयारी अवस्थामा छन् ।’

त्यस्तै बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथले जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर –१ झारकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरेका छन् । 

हिमपातको समयमै जेष्ठ नागरिकलाई कुनै समस्या भएको खण्डमा खबर आए तत्काल घरमै पुगेर स्वास्थ्योपचार गर्ने समेत स्वास्थ्यचौकी इन्चार्ज सुवास अधिकारीले जानकारी दिनुभयो । मुक्तिनाथ क्षेत्रका गुम्बाहरु सँग सहकार्य गरेर नागरिकको उपचारमा अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष रिनजिङ गुरुङको अग्रसरतामा जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शिघ्र रेस्क्युका लागि पहल हुने गाउँपालिकाका प्रवक्ता एवम् वडा–१ का अध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो ।



यो पनि पढ्नुहोस

पश्चिम तराईमा वर्षा, गहुँ बालीलाई फाइदा

तीन प्रदेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

बैतडीमा वर्षासँगै हिमपात, कृषक खुसी

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध