• १५ जेठ २०८१, मङ्गलबार

पश्चिम तराईमा वर्षा, गहुँ बालीलाई फाइदा

blog

कैलालीको तराईमा लगाइएको गहुँबाली । तस्विर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, माघ १८ गते । चार महिनापछि पश्चिम नेपालको तराईमा वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हिमपात भएको छ भने तराई क्षेत्रमा वर्षा भएको हो ।

यसअघि २०८० असोज २९ गते ३० दशमलव १ मिलिटर वर्षा भएकोमा त्यसयता वर्षा भएको थिएन । बुधबार राति हल्का वर्षा भएको छ । यो हिउँदको पहिलो वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । 

मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार शुक्रबार राति सुदूरपश्चिमबाट सुरु भएको वर्षा बागमती प्रदेशमा पुगेको र पूर्वतर्फ सर्दै जानेछ । सुदूरपश्चिममा बिहीबार राति नै मौसम सुधार भई शुक्रबार मौसम सफा हुनेछ ।

लामो समयपछि भएको थोरै वर्षाले आकाशे पानीकै भर पर्नुपर्ने बालीका लागि भने पर्याप्त भएन । जल तथा मौसम विज्ञान विभाग महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीका अनुसार यहाँ १४ दशमलव २ मिलिमिटर मात्रै वर्षा मापन भएको छ । असोज २९ गते ३० दशमलव १ मिलिमिटर वर्षा भएको थियो ।


यस पटकको वर्षा थोरै भए पनि गहुँ, मसुरो खेतीलाई राम्रो भएको छ । पाकेको र टिपेर थुपारेको तोरीखेतीलाई भने नोक्सान पुगेको छ । टीकापुर –१ का किसान छपिलाल चौधरीले टिपेर थुपारेको तोरी भिजेकाले तत्काल सुक्नेगरी घाम नलागे बिग्रने बताउनुभयो । 

यस वर्षको हिउँदे वर्षा धेरै ढिलो भयो १५ दिन अघिमात्र परेको भए पनि सबै बालीलाई फाइदा गथ्र्यो, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भन्नुभयो, “पानी जम्ने ठाउँको तोरी र तयार भएको आलुलाई केही असर गरे होला अन्यथा वर्षाले राम्रो भएको छ ।”

कैलालीमा ३४ हजार हेक्टरमा गहुँ, १३ हजार हेक्टरमा तोरी र आठ हजार हेक्टरमा मसुरो खेती हुँदैआएको कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङ्क छ ।