• १२ साउन २०८१, शनिबार

हिउँदे वर्षासँगैको हिमपातले भूकम्प पीडितको जनजीवन कष्टकर

blog

पानी परेपछि प्रभावित बनेको आठविसकोट नगरपालिका –१४ को छेपारेगाउँ । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ १८ गते । हिमपातले भूकम्प पीडितको जनजीवन थप कष्टकर बनेको छ । भूकम्पले घर भत्काएपछि अहिले केही पीडितहरू अस्थायी आवासमा र केही पीडितहरू त्रिपालमै बस्दै आएका छन् । 

बिहानैदेखि भएको हिमपातले उनीहरू थप पीडामा परेको प्रतिक्रिया दिएका छन् । आठविसकोट नगरपालिका–१४ छेपारे गाउँकी भूकम्प पीडित देवकली पुन मगरले रातीदेखि पानी पर्न थालेपछि चिन्ता बढ्न थालेको बताउनुभयो । "चिसो असाध्यै बढेको छ," उहाँले भन्नुभयो, "बालबच्चा र ज्येष्ठ नागरिकहरूलाई बाहिर निस्कनै गाह्रो भइरहेको छ ।" उहाँका अनुसार घरको नियमित कामसँगै अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । टिनले छाएका अस्थायी टहरा र त्रिपालको भरमा पानीसँगै हिमपातको सामना गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ । 

आठविसकोट नगरपालिका-१४ ज्यामिरकोट गाउँका विजय मल्लले जनजीवन थप कष्टकर बनेको बताउनुभयो । उहाँका अनुसार हिउँदे वर्षासँगैको हिमपातले भूकम्प पीडितहरूको बसाइँलाई प्रत्यक्ष प्रभाव परेको छ । मल्लले अस्थायी टहरा निर्माणको काम पुरा नभएको र चर्किएकै घरमा बस्नुपर्ने बाध्यता रहेको जनाउनुभयो । 

पानी पर्न थालेपछि चर्किएको घरबाट पानी चुहिन थालेको बताउनुहुँदै उहाँले भन्नुभयो, "यही घर पनि ढल्ने होकी भन्ने पिर बढेको छ, बाहिर निस्कने अवस्था पनि छैन ।" भूकम्प गएको तीन महिना बितिसक्दा पनि अस्थायी आवासको काम नै पुरा गर्न नसकेको भन्दै उहाँले सरकार समक्ष गुनासो गर्नुभयो । 

सानीभेरी गाउँपालिका ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले हिमपात र पानी परेको कारण सर्वसाधारणको दैनिकीमा प्रभाव परेको बताउनुभयो । उहाँले चिसोका कारण भूकम्प पीडितहरूको जीवन प्रभावित परेको उल्लेख गर्नुभयो । लेकभरि हिउँ परेको र पानी पर्न नरोकिएकोले त्रिपाल र टहरामा बसेका पीडितहरूलाई थप जोखिम भएको उहाँको भनाइ छ । कतिपय पीडितहरू चर्किएकै घरमा रहेकोले चुहिने पानीको कारण घर ढल्नसक्ने जोखिम समेत रहेको वडा अध्यक्ष बुढाथोकीले उल्लेख गर्नुभयो । 

हिमपातको कारण हिउँदे खेती गरेका किसानहरूलाई भने फाइदा पुग्ने बताइएको छ । यस वर्षको हिउँद याममा पहिलो पटक पानी परेको हो । पानी र हिउँको कारण गहुँ र जौ खेतीलाई फाइदा पुग्ने बताइन्छ ।