• १३ मंसिर २०८१, बिहिबार

कृषकलाई सम्मान तथा पुरस्कार

blog

कृषकलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय प्रमुख सनबहादुर राई ।

राजकुमार भट्टराई

खोटाङ, माघ १७ गते। खोटाङमा ७२ जना कृषकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।जिल्ला सदरमुकाम दिक्तेलमा आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ जना कृषकलाई पुरस्कार तथा २९ जना कृषकलाई सम्मान गरिएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्त रूपमा दुई दिने कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम आयोजना गरेका थिए।कार्यक्रममा सहभागी उत्कृष्ट कृषकलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

पुरस्कृत हुने कृषकलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन हजार, दुई हजार पाँच सय र दुई हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो।

कृषि तथा पशु मेला प्रदर्शनीमा १२० वटा कृषि उपज राखिएको थियो।जसमध्ये प्रथम, द्वितीय र तृतीय हुने कृषकलाई पुरस्कृत गरिएको उहाँको भनाइ छ।मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो।

कृषि तथा पशु मेला प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज राखिएको थियो।मेलाको अवसरमा राडीपाखी, छाला जुत्ता, ढाका कपडा, बाँसबाट निर्मित सामाग्री, रैथाने बाली कोदोबाट बनेका प्रकार पनि स्टलका रूपमा राखिएको थियो।

पुरस्कृत तथा सम्मानित हुने कृषकलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगर उपप्रमुख बिसन राईले संयुक्तरुपमा नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो। कृषकलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका प्राय सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएका छन्।