• १३ मंसिर २०८१, बिहिबार

रङ्गशाला निर्माणको काम पुन: सुरु

blog

परिषदमा भएको सम्झौता ।

विष्णुप्रसाद पोखरेल

दमक, माघ १७ गते । झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीमा अलपत्र बनेको आदिवासी रङ्गशाला निर्माणको काम पुनः अघि बढेको छ । एकदशक पछि रङ्गशाला निर्माणको काम अघि बढेको हो । 

नामको विषयमा भएको विवाद र बजेट अभावमा रङ्गशाला सम्याउने बाहेकको काम अघि बढ्न सकेको थिएन । कमल गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठान झापाका अध्यक्ष हुकुमसिंह राईका अनुसार आदिवासी रङ्गशाला निर्माणका लागि सङ्घीय सरकार राष्ट्रिय खेलकुद परिषद् र प्रतिष्ठानबिच निर्माण काम सुरु गर्ने सम्झौता भएको छ । 

सङ्घीय सरकारले विनियोजन गरेको बजेट परिषदमार्फत यो वर्ष एक करोड उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । माघ १८ गते बिहीबारदेखि काम सुरु गर्ने र २०८१ जेठमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले २०६७ सालमा शिलान्यास गरेको रङ्गशालालाई केही वर्षअघि मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने प्रस्ताव आएपछि विवाद भएको थियो । आदिवासी जनजातिको ७४५ समाधि उत्खनन गरेर उक्त स्थलमा र आदिवासी रङ्गशाला बनाइने निर्णयविरुद्ध आन्दोलन भएको थियो ।

रङ्गशाला निर्माणका लागि २३ बिघाभन्दा बढी जमिन छुट्याईएको राईले जानकारी दिनुभयो । "विवादका कारण रोकिएको रङ्गशाला निर्माणमा अहिले सबैको साथ र सहयोग रहेको उहाँको भनाइ छ। अब केही वर्षमा नै आदिवासी रङ्गशालाले बनिसक्ने अपेक्षा लिएका छौँ", उहाँले भन्नुभयो ।

२०६६ सालमा भएको सहमतिपत्रमा इलाका प्रशासन कार्यालय दमकका प्रमुख, तोपगाछि, लखनपुर क्षेत्रका स्थानीय तहका सचिवहरू, राजनीतिक दलका प्रतिनिधि र आदिवासी प्रतिनिधिहरुबिच आदिवासी रङ्गशाला बनाउने सहमति भएर यहाँको वर्षौंदेखिका समाधि हटाइएको प्रतिष्ठानका उपाध्यक्ष दिपेनवाला राईले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०६७-०६८ को बजेटमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आदिवासी रङ्गशाला निमार्णका लागि १ आदिवासी रङ्गशालाको नाममा नै बजेट विनियोजन गरेर काम सुरु भएको थियो । बिचमा कहिले बजेट दिने तर खर्च नहुने अवस्था आएको जनाइएको छ । 

२०७२ सालपछि नामको विवादले काम अघि बढ्न सकेको थिएन । पछिल्लो समयमा मदन भण्डारी रङ्गशाला झापाको दमक ३ मा बनाउने निर्णय भएसँगै यहाँको विवाद साम्य भएको थियो । रङ्गशालाको जमिन प्रतिष्ठानको नाममा आउनुपर्ने माग छ ।