राजकुमार भट्टराई
खोटाङ, वैशाख ८ गते । खोटाङका चार कर्मचारी सङ्गठनले सङ्घीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्मचारी सङ्गठनहरूले सभामुखलाई पठाउने गरी प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ज्ञापनपत्र हस्तान्त्रण गरेका हुन् ।
विभिन्न ११ बुँदे मागसहित जिल्लामा सक्रिय चारै सङ्गठनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । कर्मचारी सङ्गठनहरूले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाईसमेत समेटेर तत्काल सङ्घीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।
देशभरि वैशाख ८ गते ज्ञापनपत्र बुझाउने कर्मचारी सङ्गठनहरूको संयुक्त कार्यक्रम रहेको थियो । माग पुरा नभए वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने कर्मचारी सङ्गठनहरुको केन्द्रीय कार्यक्रम छ ।