• ११ मंसिर २०८१, मङ्गलबार

भृकुटीमण्डपमा बिहीबारदेखि नवौँ ‘नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै

blog

बिहीबारदेखि भृकुटीमण्डपमा नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ १७ गते । भोलि (बिहीबार) देखि नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनीमा विभिन्न देशका पाँच सयभन्दा बढी ब्राण्डका १५० बढी स्टलहरू रहने छन् । मिडिया स्पेस सोलुसन प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा मेला सञ्चालन गर्न लागेको हो । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी महत्त्वपूर्ण हुने मिडिया स्पेस सोलुसन प्रा.लि. का कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताउनुभयो ।

निर्देशक भट्टराईले विगत आठ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहने विश्वास रहेको बताउनुभयो ।


उहाँले मेला बिहान १० देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र मेलामा ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने अपेक्षा राखेको बताउनु भयो । मेलाको तयारी लगभग सकिसकेको उहाँको भनाइ छ । उहाँले प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरूले सहभागिता जनाउने बताउनु भयो । उहाँले यस वर्ष विदेशका तुलनामा नेपालका स्टलहरू बढी रहने पनि जानकारी दिनुभयो । मेलाले आर्थिक सङ्कुचन हटाउन पनि मद्दत पुग्ने बताउनु भयो ।

‘‘माघको १८, १९, २० र २१ गते (फेब्रुअरी १,२,३ र ४) मा भृकुटीमण्डप काठमाडौँमा बिहान १० देखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ । बिल्डिङ कन्स्ट्रक्सन क्षेत्रको यो एक्जिबेशन हो । यसमा हाम्रो अपेक्षा भनेको ३५ देखि ४० हजारसम्मले अवलोकन गर्ने भन्ने हो । निर्माण व्यवसायी र निर्माण सामग्रीहरूसँग सम्बन्धित यो उद्योगका मानिसहरू लगायत नयाँ घर बनाउने तथा घरलाई रिनोभेट गर्न चाहने मानिसहरूको यसमा राम्रो सहभागिता हुने अपेक्षा गरेका छौँ ।,’’  निर्देशक भट्टराईले भन्नुभयो, ‘‘तयारी लगभग सकिएको छ । अन्तिम चरणमा छौँ । फाइनल कामहरू बाँकी छन् । विभिन्न कम्पनीका स्टलहरू बन्ने प्रक्रियामा छन् । यो प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मिडिल इस्टमा दुबईका कम्पनीहरू छन् । यो मेलामा लगभग डेढ सय कम्पनीका स्टल रहनेछन् । जसमा पाँच सयभन्दा बढी ब्राण्डहरुका सामान हुनेछन् । नेपाल र भारतका बढी स्टलहरू हुन्छन् । यी प्रदर्शनी आजको भविष्यका लागि हो । यस्ता मेलाले आर्थिक सङ्कुचन हटाउन पनि मद्दत गर्दछ । पहिला विदेशका कम्पनी धेरै थिए, अहिले नेपाली कम्पनीहरू विदेशी कम्पनीको तुलनामा धेरै छन् ।’’


कार्यकारी निर्देशक भट्टराईले चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनु भयो । विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवम् नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने उद्देश्यले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौँ संस्करण हुन लागेको हो ।