• २० फागुन २०८०, आइतबार

‘वन सम्पदालाई करको दायरामा समेट्नु पर्छ’

blog

कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका प्राकृतिक सम्पदाले धनी पालिका हो । यो नगरपालिकामा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताललगायत पर्यटकीय क्षेत्र, वन सम्पदा र दर्जनौँ ताल छन् । यस्ता प्राकृतिक स्रोतको सदुपयोग गरेर मनग्गे आम्दानी बढाउन सक्ने सम्भावना रहेको छ । पालिकाभित्रका विभिन्न सामुदायिक वन, सहकारी संस्था र सामुदायिक विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता खडकबहादुर रावत नगर प्रमुख हुनुहुन्छ । ४३ वर्षीय नगर प्रमुख रावतसँग घोडाघोडीमा विकासको सम्भावना र चुनौती विषयमा गोरखापत्र दैनिक प्रदेश संयोजक प्रकाशविक्रम शाहले गरेको कुराकानी :

 

तपाईं नगर प्रमुख भएको डेढ वर्ष बित्यो, आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हामीले निर्वाचनमा ठुला महत्वाकाङ्क्षी प्रतिबद्धता गरेका थिएनौँ । सक्ने खालका काममा मात्र प्रतिबद्धता गरेका थियौँ । त्यसैले सीमित बजेट र कर्मचारीको सही ढङ्गले परिचालन गरेर निर्र्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयन गरिरहेका छौँ । अघिल्लो आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन भयो, यस पटक पनि राम्रो अवस्था छ, यसले सफलता पाइरहेको छु भन्ने अनुभूति हुन्छ ।


विद्यालय व्यवस्थापनको जिम्मेवारीमा पनि रहनुभयो, अहिले नगर प्रमुख भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता सुधार गरिरहनुभएको छ ?

शिक्षामा असाध्यै धेरै लगानी छ । लगानी अनुसार प्रतिफल आएन भन्ने बुझाइ हामी सबैको हो । पहिले आवश्यकताभन्दा दलगत स्वार्थ, व्यक्तिगत स्वार्थले नक्साङ्कन, सीमाङ्कन नगरेर जागिर खान, व्यवस्थापन समितिमा बस्न, बजेट ल्याएर दुरुपयोग गर्न विद्यालय खुले तर एकातिर पर्याप्त शिक्षक दरबन्दी छैन भने अर्कोतिर शिक्षकले आफ्नो विज्ञतालाई प्रस्फुटन नगर्दा सामुदायिक विद्यालयप्रतिको मोह घटेको छ, संस्थागत विद्यालयमा आकर्षण बढेको छ । नगरपालिकामा पर्याप्त जनशक्ति नहुँदा ५१ वटा सामुदायिक विद्यालयमा सोचे जस्तो अनुगमन गर्न सकेका छैनौँ ।

नदी कटानले खेतीयोग्य जमिन बग्ने गरेको छ, कटान रोक्न के गर्दै हुनुहुन्छ ? 

कान्द्रा नदीले वडा नम्बर ५, ७, ९, १०, ११, १२ साथै डोणा नदीले १, ५, ७, ८ र सुक्टीकाँडाले २, ३ र ६ वडा प्रभावित छन् । बाढीले गर्दा  मानवीय क्षतिका साथै खेतीयोग्य जमिन र वन क्षेत्र मासिने गरेको छ । हामीले नदी नियन्त्रणका लागि धेरै प्रयास गरिरहेका छौँ  । यसक्रममा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु भएको छ । महाकाली डिभिजन कार्यालयले नदी नियन्त्रणका लागि काम गरिरहेको छ । सडक डिभिजनकै कामले गर्दा पहलमानपुरको घुम्नेभाकल र खल्लाको बस्ती जोगिएको छ । 

घोडाघोडीको धेरै स्थानमा अझै पनि नल्काको पानी खानुपर्ने अवस्था छ, यहाँका जनताले शुद्ध खानेपानी कहिलेबाट पिउन पाउँछन् ? 

अहिले निर्माणाधीन खानेपानी आयोजना पूरा भएपछि पूरै पालिकावासीले शुद्ध खानेपानी खान पाउने अवस्था छ । टेन्डर प्रक्रियाबाट काम गर्नुपर्ने हुँदा समयमा काम हुँदैनन् त्यसको अपजस नगरपालिकाले पाउने अवस्था छ । अहिले वडा नम्बर १, २ र १० मा खानेपानी सञ्चालनमा छ । १० नम्बरको पानी ११ नम्बरले पनि पाइरहेका छन् । वडा नम्बर ४, ५ र ९ मा दुई दुई वटा खानेपानी आयोजना बन्दै छन् । वडा नम्बर ३ र ६ मा निर्माण कार्य अन्तिम चरणमा छन् त्यो आयोजना पूरा हुँदा ३ र ७ नम्बरले समेत पानी खान पाउने छन् ।  वडा नम्बर ८ र १२ मा पनि खानेपानीको काम भइरहेको छ । 


स्थानीय उत्पादनमा आधारित स्वरोजगार सिर्जना गर्न के काम गरिरहनुभएको छ ?

युएनडिपीलगायत अन्तराष्ट्रिय दातृ संस्थासँग समन्वय गरेर स्थानीय उत्पादनबाट स्वरोजगार बढाउने काम गरिरहेका छौँ । जस्तो कि वडा नम्बर ८ मा चार बिघा जमिनमा मल्टी एग्रो प्लान्टेसनको काम गरिरहेका छौँ  । ती रुख ठुला भएपछि स्वरोजगार हुने छ नै । यो कार्यक्रममा ३० परिवार संलग्न छ । यस्तै सोही वडामा ३० परिवारलाई खोरसहित बाख्रापालनमा सहभागी गराइरहेका छौँ  । वडा नम्बर ४ मा पोखरी बनाएर २० परिवारलाई भुरा दिएर माछापालन गराउँदै छौँ  । सोही वडामा लोकल कुखुराका खोर र चल्ला उपलब्ध गराएका छौँ  । व्यावसायिक तालिम गराएर कृषकलाई बिउबिजन र औजार दिइरहेका छौँ । ११ नम्बर वडामा ३० परिवारलाई दुई दुई वटा बङ्गुरपालन गराइरहेका छौँ ।


घोडाघोडीका सुकुमवासी र मुक्त कमैयाको व्यवस्थापनका लागि के काम हुँदै छ ? 

कैलालीकै सबैभन्दा बढी १२ वटा मुक्त कमैया शिविर छन् यहाँ । उहाँहरूको व्यवस्थापनका लागि विभिन्न कार्यक्रम चलाउन जरुरी छ । भूमिहीनको समस्या त्यस्तै छ । अव्यवस्थित बसोबास धेरै छन् । वडा नम्बर १, २, ३, ४, ११ र १२ मा नापी भइसकेर पुर्जा वितरण भइरहेको छ । १० नम्बरमा नापजाँच हुँदै छ । घोडाघोडीमा १५ हजारले व्यवस्थित गराएर लालपुर्जा पाउन निवेदन दिएका छन् ।


घोडाघोडीमा सरकारी तथा गैरसरकारी तहबाट ठुलो लगानी भए पनि परिणाम देखिएन भन्ने आरोप छ नि ?

हो विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा लगानी अनुसारको परिणाम आएको छैन । हामी अब घोडाघोडीमा हुने लगानी एकद्वार प्रणालीबाट गर्नु पर्छ भनेर कार्यविधि बनाइरहेका छौँ ।

घोडाघोडी नगरपालिकाको आन्तरिक आम्दानी कसरी बढाउँदै हुनुहुन्छ ?

हाम्रोमा समग्र बजेट ९९ करोडको बनाएका छौँ । त्यसमा १० करोड स्थानीय स्रोत परिचालनबाट राजस्व उठाउने लक्ष्य लिएका छौँ  । त्यसमध्ये नदीनालाको गिट्टी, बालुवा ठेक्काबाट चार करोड उठाउने लक्ष्य छ । तालतलैया र सामुदायिक वनबाट पनि धेरै कर उठाउन सक्ने थियौँ । प्रदेश र सङ्घीय कानुनले गर्दा कर उठाउन पाएका छैनौँ । हाम्रोमा ५८ तालतलैया ५७ सामुदायिक वन छन् । ती प्राकृतिक स्रोतको सही सदुपयोग गरेर समुदायलाई पनि जोडेर करको दायरा बढाउन लागिरहेका छौँ । जस्तो तालबाट आउने आम्दानी ६० पालिका र ४० समुदायलाई दिने गरेर लागेका छौँ ।