• १७ मङ्सिर २०८२, बुधबार

‘समाजलाई अपाङ्गमैत्री बनाउनु सबैको कर्तव्य हो’

blog

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

अनिल पराजुली

हेटौँडा, मङ्सिर १७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले समाजलाई अपाङ्गमैत्री बनाउन सबैको समान दायित्व भएको बताउनुभएको छ । ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (३ डिसेम्बर २०२५) का अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले “अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको सम्बर्धन” नारालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले हरेक व्यक्तिको मानव तथा मौलिक अधिकार सुरक्षित रहनु आवश्यक रहेको बताउँदै समावेशीता भाषामा, संस्कृतिमा वा परम्परामा मात्र सीमित नभइ भिन्न क्षमताका व्यक्तिहरूलाई विकास र परिवर्तनको यात्रामा साथ लिएर अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो ।

भिन्न क्षमता भएका व्यक्तिहरूको क्षमता पहिचान र अभिवृद्धिका लागि राज्य, नागरिक समाज तथा संघ–संस्थाहरू सबै मिलेर परिणाममुखी कार्य गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । “सार्वजनिक सेवा प्रवाहलाई भिन्न क्षमतामुखी, चुस्त र दुरुस्त बनाउनुपर्छ” उहाँले भन्नुभयो, “आजको दिनले हामीलाई सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणमा प्रेरणा दिनेछ भन्ने अपेक्षा गरेको छु ।”

अपाङ्गता कुनै कमजोरी नभइ एउटा अवस्था मात्र हुने उल्लेख गर्दै देवकोटाले शारीरिक, मानसिक वा बौद्धिक अपूर्णताका कारण व्यक्तिका अन्य क्षमताहरू ओझेलमा पार्ने प्रवृत्ति हटाउनुपर्ने बताउनुभयो । “नेपालसहित विश्वभर कैयौं फरक क्षमता भएका व्यक्तिहरूले मानव सभ्यतामा असाधारण योगदान दिनुभएको उदाहरणहरू छन्” उहाँले स्मरण गराउँदै उपयुक्त वातावरण निर्माण गर्नु सबैको साझा दायित्व रहेको स्पष्ट पार्नुभएको छ ।

दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण फरक क्षमता भएका दिदीबहिनी तथा दाजुभाइहरूप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।