• १७ मङ्सिर २०८२, बुधबार

गलेश्वर–पुलाश्रम सडक योजनामा ठेकदारको लापरबाही

blog

सडक निर्माणको अनुगमन गर्दै टोली । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, मङ्सिर १७ गते ।
बेनीमा निर्माणधिन गलेश्वर–पुलाश्रम सडक योजनामा ठेकेदारले लापरबाही गरेको भेटिएको छ । बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा कम चौडाईको कल्भर्टको पर्खाल निर्माण गरेको फेला परेपछि अनुगमन टोलीले भत्काइदिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधिन कल्भर्टको पर्खालको चौडाई ६० सेन्टिमिटर हुनुपर्नेमा ४९ सेन्टिमिटर बनाएको भेटिएपछि भत्काएर पुनः बनाउन निर्देशन दिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।

निर्माणधिन सडक योजनाको अनुगमनमा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिससका कार्यवाहक प्रमुख खत्री, पूर्वाधार विकास कार्यालयका प्रमुख डा. महेन्द्र बानियाँसहितको टोलीले सडक निर्माणका क्रममा ठेकेदारले लापरबाही गरेको सूचना स्थानीयबाट पाएपछि अनुगमनमा पुगेको थियो ।

अनुगमनका क्रममा सडकको पर्खालमा गुणस्तरीय मसला (सिमेन्ट र बालुवाको अनुपात मिलाएर) प्रयोग गर्न र फिनिसिङ राम्रो बनाउन निर्देशन दिएको गण्डकी प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो ।

बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बि.बि.पी.एल. बि.एस. डि.एस धौलागिरीले गत असार महिनामा दुई करोड २३ लाख ४६ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

योजनामा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको योजना मार्फत तीन सय मिटर ढलान र एक हजार सात सय मिटर ग्राभेल सहित स्तरोन्नति गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख डा. बानियाँले जानकारी दिनुभयो । सडक निर्माणलाई गुणस्तरीय बनाउन नियमित रुपमा अनुगमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।