काठमाडौँ, माघ १७ गते । देशभरका चलचित्र हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते हल सञ्चालकले देशभरका हल बन्द गर्ने भएका छन् ।
नेपाल चलचित्र सङ्घले अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा उक्त दिन देशभरका हल बन्द गर्ने मङ्गलबार जारी विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । चलचित्र क्षेत्रले विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएका कारणले यस्तो कदम उठाउनु परेको सङ्घका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागु भएपछि अन्य कर नलगाउने भन्ने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायत विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्यो । त्यसैले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका चलचित्र घर बन्द गर्ने निर्णय गरेका हौँ ।