• १८ वैशाख २०८१, मङ्गलबार

नेपालमै छाप्न थालियो हुलाक टिकट

blog

काठमाडौँ, माघ १७ गते । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । 

यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।

जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ । 

बाँकी ८० लाख थान टिकट छ प्रकारका सामग्री, धार्मिक स्थललगायतको चित्र अङ्कित हुने जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले बताउनुभयो । यसअघि जनक शिक्षाले विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण, माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र र आन्तरिक राजस्व विभागको स्टिकरलगायतका सामग्री पनि छाप्ने गरेको थियो । 

निर्वाचनको समयमा मतपत्र पनि जनक शिक्षाले नै छाप्ने गरेको छ । हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ । जहाँ ३५ कर्मचारी खटाइएको छ । 

यसरी छापिएका टिकटको मूल्य ५, १० र १३ रुपियाँ तोकिएको छ । विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ पर्ने गरेको थियो । जनक शिक्षामा भने ९५ पैसामै छपाइ सम्भव भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “स्वदेशमा छाप्दा हुलाक टिकट छपाइको बर्सेनि विदेशिइरहेको करोडौँ रुपियाँ यतै रोक्न सफल भयौँ । साथै तुलनात्मक रूपमा सस्तो पनि भयो ।” 

यसअघि विदेशमा टिकट छपाइ गर्दा ठुलो परिमाण छापिने गरेको थियो । विभिन्न सरकारी कार्यालयमा निवेदन लेख्दा, पत्र पठाउँदा वा अन्य प्रकारको फाराम भरेर बुझाउँदा हुलाक टिकट टाँस्नु अनिवार्य छ । 

तर पछिल्लो समय यस्ता अधिकांश काम अनलाइन माध्यमबाट हुन थालेकाले हुलाक टिकको प्रयोग अत्यन्त कम हुन थालेको छ । स्वदेशमै छापाखाना हुँदा पनि टिकटको प्रयोग अधिकतम हुने र ठुलै परिमाणमा चाहिने बहाना बनाउँदै हुलाक सेवा विभागले त्यतिखेर विदेशमा नै टिकट छाप्ने गरेको थियो । 

   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।