काठमाडौं, माघ १६ गते । प्रहरीले अनलाइन ठगी गरी रकमान्तर भएका खाताको व्यवस्थापन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन ठगी गरी रकमान्तर भएका खाताको व्यवस्थापन गर्ने राजविराज नगरपालिका–१० डुम्री बस्ने २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धानका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार साहले विभिन्न सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भनी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
पीडितहरूले साहले सञ्चालन गरेको उदगम भेन्चर क्यापिटल, प्रोफिस्ट ग्रुप र डम्बर साहको व्यक्तिगत खातामा विभिन्न तहमा पठाउने गरेका थिए ।
उदगम भेन्चर क्यापिटल, प्रोफिस्ट ग्रुप र डम्बर साहको व्यक्तिगत खातामा नेपाली रुपियाँ एक अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४४ रुपियाँ रहेको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।
साहविरुद्ध ३४ जनाको उजुरी परेको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । साहलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।