• २ जेठ २०८२, शुक्रबार

ओली समकालीन राजनीतिका प्रतिभाशाली नेता : पूर्व राष्ट्रपति भण्डारी

blog

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्नुहुँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत । तस्बिरः सुजन गुरुङ

काठमाडौं, माघ १६ गते। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताको रूपमा चित्रण गर्नुभएको छ। 

मंगलबार काठमाडौँमा आयोजित एक समारोहकामा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको बताउनुभयो। 

पूर्वराष्ट्रपति भण्डारीले संसदमा गर्नुभएका भाषण पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताउनुभयो। उहाँले सो पुस्तकले नेपाली संसद्को इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा (एमाले) ले खेलेको भूमिका समेत उजागर गरेको बताउनुभयो। 

पूर्व राष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पत्तिको रूपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताउनुभयो।


उहाँले भन्नुभयो, ‘‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ। सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा (एमाले) को अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ। सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ।’’

निरङ्कुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने सिलसिलामा ओलीले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनुभएको विषयकोसमेत चर्चा गर्नुभयो। 

ओलीको राजनीतिक जीवनको चर्चा गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले संसदमा बोल्नुभएका कुराहरू कथ्यको रूपमा संसद् सचिवालयमा मात्रै थन्किरहेको अवस्थामा त्यसलाई अभिलेखीकरण गरी यस पुस्तकका माध्यमबाट आज सार्वजनिक गर्ने काम सम्पन्न भएको उल्लेख गर्नुभयो। 

उहाँले सार्वजनिक भाषणको दस्तावेजीकरणले एकातर्फ राजनीतिक नेतालाई आफूले जनताको सामु गरेका वाचा, घोषणा र गरेका कार्यका लागि जबाफदेही बनाउन सहयोग गर्दछ भने अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहललाई जनता समक्ष पुर्‍याउन सञ्चार पुलको कामसमेत गर्न सक्ने उल्लेख गर्नुभयो। पुस्तकले नेपाली संसद्को इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा एमालेले खेलेको भूमिका उजागर गरेको बताउनुभएको छ। 

पूर्व राष्ट्रपति भण्डारीले पुस्तक नेतालाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।