नवलपरासी समाचारदाता
कावासोती, माघ १५ गते । सामूहिक च्याउ खेतीबाट राम्रो आम्दानी लिन सफल भएपछि गैँडाकोट नगरपालिका–४ का महिलाको जीवनस्तर पनि परिवर्तन हुँदै गएको छ ।
पूर्वी नवलपरासी देशकै धेरै च्याउ उत्पादन हुने जिल्लाको सूचीमा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गैँडाकोट, देवचुली कावासोती, मध्यबिन्दु नगरपालिकाका धेरै स्थान च्याउ खेतीका लागि उर्वर मानिन्छ ।
यो जिल्लाबाट वार्षिक ४० टन कन्ने च्याउ उत्पादन गरी वार्षिक चार करोड रुपियाँसम्मको च्याउ उत्पादन तथा बिक्री हुने गरेको केन्द्रले जनाएको छ । गैँडाकोटका स्वावलम्बी महिला समूहका महिलाले व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन् ।
हरेक वर्ष यो खेतीबाट राम्रो आम्दानी लिन सफल भएको समूहकी अध्यक्ष सङ्गीता पण्डित बताउनुहुन्छ । यसबाट सामूहिक रूपमा वार्षिक ३० लाख रुपियाँभन्दा बढी आम्दानी गरी २१ जना महिलाले राम्रै आम्दानी लिन सफल भएको अध्यक्ष पण्डितले बताउनुभयो ।
पूर्वी नवलपरासीमा सबैभन्दा बढी कन्ने, त्यसपछि गोब्रे र सिताके च्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । युवा र महिला शक्तिलाई च्याउ खेतीतर्फ बढी आकर्षित गरेको, जनजाति बढी यसमा क्रियाशील भएको, च्याउ बिक्रीका लागि बजारको समस्या नभएको, ज्ञान केन्द्रले जनाएको छ ।