बाबुराम शर्मा
दोलखा, माघ १५ गते । दोलखाको उत्तरी दुर्गम सुरीका दम्पतीले विभिन्न आरोह अवरोह खेपेर पनि राडी पाखी बुन्ने पेसालाई जेनतेन अहिलेसम्म जोगाइ राख्नु भएको छ ।
बेलामा पढ्नमा ध्यान गएन । परिवारको बोझ काँधमा परेपछि पछुताउ भयो तर के गर्नु ? अहिले हातमा भएको सानो सीपबाट राडी पाखी समेत बुनी जीवन धान्ने गरेको श्याम गुरुङले गुनासो गर्नु भयो । दम्पती दुवैको सीपले राडी पाखी समेत बुनी बिक्री वितरण गरी छोराछोरी समेतको जेनतेन जीवन गुजारा चलेको बताउँदै उहाँले अब बूढाबूढी भयौँ जवानीको जोशजाँगर त छैन तर सीपलाई चटक्कै छोड्न गारो भएको बताउनु भयो ।
चटक्क छोड्न त पटक्कै मन छैन, जीवनको साथी पेसालाई बढाएर लैजाऊँ जस्तो पनि लाग्छ । उहाँले भन्नु भयो, आधुनिक मेसिन ल्याएर पेसा व्यवसाय बढाउने रहर छ तर सन्तानले यो सीप सिकेनन् । बढाउँछु भनेरै ऊन त सङ्कलन गरेँ । ऋण गरेर मेसिन ल्याउँला दक्ष जनशक्ति पाइएन भने ऋणमा मात्र डुबिन्छ भनेर ऊन थुपारेर राखेको छु । आँट आएको छैन ।
उहाँले जेनतेन गरेको यो पेसाले हुँदै नभएको भने होइन । परिवार पालिएर सदरमुकाम चरिकोटमा जग्गा खरिद गरी पक्की घर पनि बनाइएको छ । उहाँले भन्नु भयो, अहिले जवानीको जस्तो जोशजाँगर आँट आउँदो रहेनछ । साथ दिने मानिस पाइन । दोधारमा छु ।
आफ्नी श्रीमतीले माइतमा नै सादा राडी पाखी तथा लुकुनी बुन्न जानेको र उनीबाट आफूले पनि सीप सिकेको हो । उहाँले भन्नु भयो, बुट्टावाल बुन्न भने काठमाडौँमा रहेका रुम्जाटारे गुरुङबाट सिकेर १० वर्षसम्म काठमाडौँमै बुनाइको काम गरेको पूर्व स्मरण ताजै छ । काठमाडौँको महँगो बसाइमा रहन नसकी करिब तीन दशकअघि चरीकोट आई यो पेसा उहाँले अपनाउनु भएको हो । उहाँले भन्नु भयो, जागिर खाऊँ भने योग्यता छैन, त्यसमा पनि हदम्याद नाघिसक्यो । यही बुन्ने काम नै राम्रो लाग्छ । करिब ४० वर्षदेखि यसैमा तल्लीन भइरहेको छु ।
काम त त्यति सजिलो छैन । गाउँका सुरी, खारेबाट ऊन ल्याउनु पर्छ । चरिकोट आइपुग्दा ऊन प्रतिधार्नी चार सय माथि पर्छ । उहाँले भन्नु भयो, एक धार्नी ऊनलाई सुकाइ, कटाइ कनाइ, मडाइ समेतको दुई पाटे राडी तयार गर्न एक हजार जति लाग्छ, बिक्री पन्ध्र सय रुपियाँमा पनि बिक्छ । नाफा पनि राम्रै देखिन्छ तर भने जति बिक्री हुँदैन ।
उहाँका दुई वटा तान छन् । बूढाबूढी दुवैले बुन्दा दिनमा दुई पाटे राडी तयार हुन्थ्यो । अब त सकिँदैन उहाँले भन्नु भयो, माग अनुसारको लुकुनी पनि तयार गर्ने गरेका छौँ । लुकुनी एक हजार जतिमा बिक्छ पनि ।
बजारमा त्यति बिक्री हुँदैन, गाउँमा पुर्याउनु पर्छ । उहाँले एक पटक बजारमै राडी पाखी, लुकुनी समेतको पसल राख्ने चाहना पनि गर्नु भएको थियो । भाडा तिरेर खासै नाफा नहुने देखेपछि मन मारेको पनि उहाँले बताउनु भयो ।