पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, जेठ २९ गते । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सञ्चालनमा आएको छ । यसले डायलिसिस सेवाका लागि बाहिर जिल्ला जानुपर्ने बिरामीहरूलाई ठुलो राहत मिलेको हो ।
अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई व्यवस्थित गरी पाँच वटा बेडसहित यो सेवा सुरु गरिएको छ । तत्कालका लागि अस्पतालकै खर्चमा डायलिसिस सेवा सञ्चालन भइरहेको अस्पतालका अध्यक्ष जगदीशप्रसाद चौधरीले जानकारी दिनुभयो ।
डायलिसिस सेवा सुरु भएसँगै बायोटेक्निसियन लगायतका थप जनशक्तिको आवश्यकता महसुस भएको अध्यक्ष चौधरीको भनाइ छ । उहाँले यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने जानकारी दिनुभयो । साथै अन्य सहायकस्तरका स्वास्थ्यकर्मीका लागि स्थानीय सरकारसँग पहल गरिनेछ ।
जिल्लाका दुई दर्जनभन्दा बढी बिरामीहरू नियमित डायलिसिसका लागि बुटवल र भैरहवा जान बाध्य थिए ।
यस अस्पतालमा डेढ महिनादेखि रेडियोलोजिस्ट चिकित्सकले सेवा दिन थालेपछि बिरामीको आकर्षण बढेको छ । रेडियोलोजिस्टको उपस्थितिपछि बिरामीहरूले गुणस्तरीय भिडियो एक्सरे सेवा पाउन थालेका छन् ।
अस्पतालमा उपकरण अभावका कारण आँखाको शल्यक्रिया हुन सकेको छैन । सामान्य आँखा परीक्षण मात्रै भइरहेको छ । व्यवस्थापकीय अभावले सर्जिकल सेवा र सघन उपचार कक्ष (आईसीयू) को सेवा पनि प्रभावकारी हुन सकिरहेको छैन ।
अस्पतालले अब आँखा परीक्षणका लागि छुट्टै विभाग स्थापना गर्ने योजना बनाएको छ । मधुमेह तथा रक्तचापका बिरामीहरूलाई औषधी चलाउँदा आँखामा पर्न सक्ने असरका कारण नियमित परीक्षणको आवश्यकतालाई ध्यानमा राखी यो सेवा थप गर्न लागिएको हो ।
अस्पतालले बहिरङ्ग विभाग (ओपीडी), आकस्मिक सेवा र सामान्य उपचारका साथै पछिल्लो समयमा विशेषज्ञ सेवाहरू पनि थप गर्दै आएको छ । हालैमात्र डायलिसिस सेवाको सुरुवात हुनुले यस अस्पतालको सेवा विस्तारको पाइन्छ । यसअघि डायलिसिसका लागि बिरामीहरूले बुटवल वा भैरहवा जानुपर्ने बाध्यता थियो, जुन अब अन्त्य भएको छ ।
पृथ्वीचन्द्र अस्पताल, पश्चिम नवलपरासी जिल्लामा अवस्थित, यहाँको स्वास्थ्य सेवाको महत्त्वपूर्ण ५० शय्या क्षमताको अस्पताल हो । यो अस्पताल जिल्लाका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य केन्द्रबिन्दुको रूपमा छ ।