हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ ३० गते । मुस्ताङमा दुर्लभ हिउँ चितुवा र चितुवाको वासस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न तल्लो मुस्ताङका तीन स्थानीय तहमा सर्वेक्षण सुरू गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्चलेक, खर्क तथा बनजंगलमा हिउँ चितुवा, चितुवा र आहारा प्रजातिको अध्ययन अनुगमनका लागि ३२ वटा क्यामेरा जडान गरिएको छ ।
मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, बाजुङ, जोमसोम लेक, मार्फा बतासे लेकका साथै छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसाको उच्च हिमाली क्षेत्रमा पाँच–पाँच किलोमिटरको दूरीमा क्यामेरा राखिएको एक्याप जोमसोमका प्राकृतिक स्राेत संरक्षण सहायक दिपक ओलीले बताउनुभयो ।
म्याग्दी क्षेत्रमा आगलागी तथा जङ्गलमा आहाराको कमी भएपछि आहारा जुटाउन चितुवा मुस्ताङको घाँसा क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले क्यामेरा राखिएको छ । समुन्द्री सतहको ३ हजार मिटरदेखि ४ हजार ६ सय मिटरको उचाइसम्म राखिएको क्यामेराले हिउँ चितुवा कति तलसम्म आउने, चितुवा माथिल्लो क्षेत्रसम्म जाने, आहारा प्रजातिको अवस्था लगायत वासस्थानका बारेमा अध्ययन गरिने प्राकृतिक स्राेत संरक्षण सहायक ओलीको भनाइ छ ।
ओली भन्नुहुन्छ, "हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको हेर्न यो विधिले सहज हुन्छ, आहार प्रजातिको अवस्थाको बारेमा पनि अध्ययन गर्न सजिलो हुन्छ ।" ४५ दिनसम्म राखिने क्यामेराले हिउँ चितुवा र चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण गरिने एक्याप जोमसोमले जनाएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ चितुवा आहाराको खोजीमा मानब बस्तीसम्म आउने, आगलागी लगायतका मानबसिर्जित गतिविधिका कारण चितुवा उच्च हिमाली क्षेत्रसम्म पुग्ने सम्भावना रहेको छ । मुस्ताङका बस्तीमा रहेका पशुचौपाया, भेडाच्याङ्ग्राको गोठमा हिउँ चितुवाले वर्षेनी क्षति पुर्याउने गरेको छ । हिउँ चितुवाको मुख्य आहारा हिमाली वन्यजन्तु नाउर मानिन्छ ।
गत वर्ष उपल्लो मुस्ताङमा हिउँ चितुवा पाइने सम्भावित क्षेत्रहरू साङ्ता, लोमान्थाङ र दामोदर कुण्डलाई तीनवटा ब्लकमा विभाजन गरी पाँच–पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू बिछ्याइएर अध्ययन गरिएको थियो । एक ग्रीडमा दुई वटा क्यामेरा जडान गरिएकोमा हिउँ चितुवा साथै आहारा प्रजातीहरु नाउर र अन्य लोमोन्मुख तथा दुर्लभ स्तनधारी वन्यजन्तु कैद गरिएको थियो ।
लजालु स्वाभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ ।