• १३ साउन २०८१, आइतबार

पूर्वी नवलपरासीमा ४० कुष्ठरोगी फेला

blog

मीना कंडेल

कावासोती, माघ १४ गते । नेपाल कुष्ठरोगमुक्त मुलुक घोषणा भइसके पनि बेला–बेलामा कुष्ठरोग सङ्क्रमित व्यक्तिहरू देखा परेको देखिएको छ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ, कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगीप्रति हुने भेदभाव अन्त्य गरौँ’ नारासहित आइतबार ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ । 

नयाँ कुष्ठरोगका बिरामी भने फेला परिरहेका छन् । विशेषगरी तराईका १६ वटा जिल्लामा अझै पनि कुष्ठरोगी भेटिन्छन् । पूर्वी नवलपरासीमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म १६ जना नयाँ कुष्ठरोगीका बिरामी भेटिएका छन् । 

नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष १० जना र महिला ६ जना रहेको जनाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन डिल्लीराम तिवारीका अनुसार नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगी फेला परेका छन् । 

जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् । अहिले गैँडाकोटमा १६ जना, देवचुलीमा ७ जना, कावासोतीमा ८ जना, विनयी त्रिवेणीमा ३ जना र मध्यविन्दुमा ५ जना कुष्ठरोगीले औषधी सेवन गरिरहनुभएको छ । चालु आर्थिक वर्षमा ८ जना निको भएको छ ।

जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरहेको भए पनि नवलपुरमा  नयाँ १६ जना थपिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । तिवारीका अनुसार समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिक रूपमा घट्दै गइरहेको छ ।

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्नेगरेको भन्दै कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांसपेशीलाई कमजोर बनाउने उहाँले बताउनुभयो ।

पछिल्ला दिनमा कुष्ठ रोगीप्रति हुनेगरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्णरुपमा अन्त्य हुन सकेको छैन । जनचेतनाकै विस्तारसँगै मानिसमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति रहेको छ ।