• १२ असार २०८१, बुधबार

बसपार्क सञ्चालनमा ढिलाइ

blog

बेनी समाचारदाता 

बागलुङ, माघ १४ गते । बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरमा करिब नौ करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको साढे दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । 

बसपार्कका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबिच भएको सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा बसपार्क सञ्चालन गर्न समस्या भएको हो । नगर विकास कोषको ऋण सहयोगमा नगरपालिकाले ठेक्कामार्फत २०७८ असारमा बसपार्क निर्माण सम्पन्न गरिएको थियो । बसपार्कमा सुविधासम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ । 

बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्र म क्षेत्रीले बसपार्क बनाउन जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबिचको समझदारी कार्यान्वयनमा समस्या र फराकिलो पहुँच मार्ग नहुँदा बसपार्क सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क सञ्चालनमा ल्याउन धेरै ढिलाइ भइसकेको छ । जग्गा व्यवस्थापन समितिसँग नगरपालिकाले गरेको १२ बुँदे समझदारी कार्यान्वयनमा ढिलाइ र पहुँच मार्ग बनाउने विषयमा विवाद हुँदा बसपार्क सञ्चालनमा ढिलाइ भएको हो । पहुँच मार्ग निर्माणका लागि वैकल्पिक सडकको व्यवस्था भइसकेको छ । अब चाँडै नै बसपार्क सञ्चालनमा आउँछ ।” 

नगर प्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम सकिएको र जग्गा व्यवस्थापन समितिले गर्नुपर्ने काम बाँकी रहेकाले बसपार्क सञ्चालनमा ल्याउन ढिलाइ भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बसपार्कका सम्बन्धमा नगरपालिकाले गर्नुपर्ने सम्पूर्ण काम गरिसकेका छौँ । जग्गा व्यवस्थापन समितिले यतिखेर जग्गादातालाई उपलब्ध गराउने घडेरीको काम गरिरहेको छ । नगरपालिकाले पहुँच मार्ग कालोपत्रे गरेर दुई/चार महिनाभित्रमा बसपार्क जसरी पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ ।” 

स्थानीयले निःशुल्क उपलब्ध गराएको स्थानमा बसपार्क बनाउन नगरपालिकाले आठ करोड ८० लाख ६४ हजार १९८ रुपियाँ खर्च गरेको छ । बसपार्क निर्माणका लागि स्थानीय २२ घरपरिवारले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । जग्गा व्यवस्थापन समितिमार्फत बसपार्कको जग्गा व्यवस्थापन गरिएको थियो । बसपार्क बनाउन प्रयोग भएको जग्गाबाहेकको जग्गा समितिले पुनः जग्गादातालाई प्लटिङ गरेर फिर्ता दिनुपर्ने समझदारी भएको थियो । 

“बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा क्षेत्रफल भएको जग्गामा घडेरीका लागि नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माण गर्नुपर्ने काम नगरपालिकाले सम्पन्न गरिसकेको छ ।” नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “जग्गाधनीलाई जग्गा फिर्ता दिने काम जग्गा व्यवस्थापन समितिको हो । नगरपालिकाले सबै काम सकेको छ । अब पहुँच मार्ग निर्माण गरेर दुई/चार महिनाभित्रमा बसपार्कको भव्य उद्घाटन गर्ने योजना बनाएका छौँ ।”