• ६ माघ २०८१, आइतबार

चन्द्र नहर पुनर्निर्माण हुने

blog

देवरामप्रसाद यादव

सप्तरी, माघ १४ गते  ।  सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण छिटै सुरु हुने भएको छ । आवश्यक मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको नहर जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको हो । यसका लागि नेपाल सरकारलाई जापान सरकारले करिब दुई अर्ब रुपियाँ आर्थिक सहयोग गर्ने  विषयमा सम्झौता भएको चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवले जानकारी दिनुभयो । अध्यक्ष यादवका अनुसार जापान सहयोग नियोगबाट (जाइका) ले जापानकै हाज्मा कम्पनीलाई नहर निर्माणको ठेक्का दिएको छ ।

 करिब ३१ किलोमिटर नहरको सुरु बिन्दुदेखि अन्त्यसम्मको ३२ वटा नयाँ पुल र साइफनको निर्माण गर्ने सम्झौता भएको अध्यक्ष यादवको भनाइ छ । चन्द्र नहरको वरिपरि बस्ने मानिसले नै अतिक्रमण गरेपछि नहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा मानिसले घर बनाउने, घरेलु सामान राखेर ओगट्ने कार्यले  अतिक्रमणमा पर्दै आएको छ । 

सुरुमा प्रतिसेकेन्ड १४ घनमिटर पानी प्रवाह गर्न सक्ने नहरबाट अहिले त्यति क्षमतामा पानी प्रवाह हुन सकेको छैन । नहरमा थोरै पानी आउने समयमा पनि सिँचाइका लागि विभिन्न ठाउँमा भत्काउने कार्यले यसलाई थप जीर्ण बनाएको छ । 

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८० मा निर्माण गरेको नहरले जिल्लाको कुल ११ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने क्षमता राख्थ्यो । नहरको मर्मतसम्भार नहुँदा एक दशकदेखि कुल क्षेत्रमध्ये आधा भागमा मात्र सिँचाइ हुन सकेको छ । 

वर्षायाममा आउने बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किने गरेकोमा त्यसको पनि मर्मत हुने गरेको छैन । विसं २०७३ मा आएको बाढीले जिल्लाको सुब्बाटोल, बुधेवा, महुली, गङ्गाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म नौ करोड रुपियाँ खर्च गरिएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।

मङ्सिर र पुसमा लगाइएको गहँु बालीलाई पानी चाहिएको बेलामा चन्द्र नहर वरपरका किसानलाई नै समस्या परेको स्थानीय किसान महेन्द्रप्रसाद यादवको गुनासो छ । उहाँ भन्नुहुन्छ, “हामी खेतीको समयमा पनि यस नहरबाट पाउनुपर्ने सुविधाबाट वञ्चित भएका छौँ । यो समस्या हामीलाई मात्रै होइन सप्तरीको पूर्वी तथा उत्तरी भेगका हजारौँ किसानको रहेको छ । यसप्रति सिँचाइ डिभिजन र नेपाल सरकारले समेत ध्यान नदिएका कारण किसानले चर्को मूल्य तिरेर सिँचाइ गर्नु परेको छ ।”

कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालयका प्रमुख प्रदीप बान्तवाले सप्तरीमा कुल ८३ हजार २३० हेक्टर कृषियोग्य जग्गा रहेको बताउनुभयो । उहाँका अनुसार यसमध्ये ४५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु-याउने लक्ष्यले योजना सञ्चालन भए पनि २८ हजार ६२४ हेक्टरमा मात्र सिँचाइ भइरहेको छ । यहाँ विगत करिब ११ वर्षदेखि सिँचाइको अभाव र निरन्तरको खडेरीका कारण सरदर ५५ देखि ६० हजार हेक्टरमा मात्र धान खेती हुने गरेको छ ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा गहुँ र धान खेती लगाउने गरेकोमा प्रत्येक हिउँद र वर्षायाममा समेत पानी नपाएका कारण कृषकले चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउने गरेका छन् ।

झन्डै एक शताब्दीअघि बनेका चन्द्र नहरको विभिन्न ठाउँका पुल र साइफनमा सिमेन्टको प्रयोग गरेको देखिँदैन । त्रियुगा नदीको पानी फत्तेपुरबाट नहरमा पठाइएको छ । इतिहास अनुसार श्री ३ चन्द्रशमशेरको पालामा नेपालका पहिलो सिभिल इन्जिनियर डिल्लीजङ्ग थापाले निर्माण गर्नुभएको हो । नहरको निर्माण विसं १९८५ मा निर्माण सुरु भई १९८९ मा तयार भएको  थियो ।