• २९ जेठ २०८२, बिहिबार

अठार वर्ष विदेश, अन्ततः स्वदेशमै कृषि

blog

पशुपालनमा रेसमप्रसाद चपाई र कलावती चपाई । तस्बिर : सावित्री गिरी

कोहलपुर समाचारदाता

कोहलपुर, जेठ २८ गते । बाँकेको खजुरा गाउँपालिका–२ का ४२ वर्षीय रेसमप्रसाद चपाईले १८ वर्षसम्म विदेशमा पसिना बगाउनुभयो तर सोचे जस्तो सफलता नभएपछि स्वदेश फर्केर कृषिमा लाग्नुभयो । अहिले भैँसीपालनमार्फत गाउँमै आत्मनिर्भर बन्नुभएको छ । 

 २०७६ सालदेखि आफ्नै घरमा गोठ निर्माण गरी पाँच वटा भैँसी र पाँच वटा पाडापाडीबाट व्यवसाय सुरु गर्नुभएको थियो । अहिले उहाँका फार्ममा पाँच भैँसी, तीन पाडी, एक राँगा, तीन बाख्रा र होलेस्टन जातका दुई वटा गाई छन् । उहाँले दैनिक ४० देखि ७० लिटरसम्म दुध बिक्री गर्दै आउनुभएको छ । 

२७ वर्षको उमेरमा वैदेशिक रोजगारीको सिलसिलामा भारत हुँदै मलेसिया, कतार, कुवेत र दक्षिण अफ्रिकासम्म पुग्नुभएका चपाईले १८ वर्षको परिश्रमबाट कमाएको पुँजीलाई आफ्नै माटोमा लगानी गर्ने निर्णय गर्नुभयो । 

सुरुमा १० लाख रुपियाँ लगानी गरेर थालिएको व्यवसायबाट अहिले उहाँले मासिक झन्डै एक लाख २० हजार रुपियाँसम्म आम्दानी गरिरहनुभएको छ । रेसमले एक बिघा आफ्नै र तीन बिघा भाडामा लिएको जमिनमा घाँस तथा पशु आहार उत्पादन गरिरहनुभएको छ । रेसमकी श्रीमती ४१ वर्षीय कलावती चपाईले पनि रेसमलाई व्यवसायमा सहयोग गरिरहनुभएको छ । उहाँले पशुका लागि मकै, धान र गहुँको मिश्रणबाट घरमै दाना पनि तयार पार्नुहुन्छ ।