टोपलाल अर्याल
रेसुङ्गा, जेठ २८ गते । तम्घासको बसपार्क नजिक रेसुङ्गा नगरपालिकाले निर्माण गरेको फल्चा जिल्लाको लागि नयाँ संरचना हो । काठमाडौँ उपत्यकामा देखिने फल्चामा गुल्मी कारागारका कैदीबन्दीको काष्ठकला प्रयोग गरी निर्माण गरेको हो । डेढ सय वर्ष पुरानो इन्द्र पौवा जीर्ण भएपछि सोही ठाउँमा फल्चा निर्माण गरिएको छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आधुनिकताका नाममा पुराना कला र संस्कृतिहरु लोप हुँदै गएपछि पौवाको ठाउँमा फल्चा निर्माण गरिएको बताउनुभयो । कैदीबन्दीहरुको सीपको प्रर्दशन र स्थानीय सामग्रीको उपयोगबाट पुरानै काष्ठकलामार्फत फल्चा निर्माण गरिएको प्रमुख पन्थीको भनाइ छ । उहाँले भन्नुभयो,”नीति कार्यक्रममै काष्ठ र धातुकलाको प्रयोगलाई प्राथमिकता दिने उल्लेख छ । पुरानो पैवाको ठाउँमा अहिले काष्ठकलाको प्रयोग गरेर फल्चा निर्माण गरेका छौँ ।”
काष्ठकलामा निकै अब्बल कैदीबन्दीहरुका सामग्री पछिल्लो समय सरकारी तथा गैरसरकारी थुप्रै संरचनामा प्रयोग हुँदै आएका छन् । नगरले काफलपानी निर्माण सेवामार्फत कैदीबन्दीहरुले निर्माण गरेका काष्ठ सामग्रीहरु फल्चामा प्रयोग भएका हुन् ।
आफूहरुले बाहिर निर्माण गर्दा लाग्ने लागतको ५० प्रतिशत कममा काम गरेको जिल्ला कारागारका कालिगढसमेत रहनुभएका चौकीदार हरि थापाले जानकारी दिनुभयो । पछिल्लो समय कारागारमा काष्ठकला र फर्निचरको काममा हुँदै आएको छ । वार्षिक साढे तीन करोडभन्दा बढीको कारोबार हुने कारागारबाट कैदीबन्दीले न्यूनतम सात हजारदेखि ४५ हजारसम्म कमाउने गरेको थापाले बताउनुभयो ।
उहाँले विद्यालय, मन्दिर, गाउँपालिका भवन, सभाहललगायतका ठाउँहरुमा कारागारको सीप प्रयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “फल्चामा पनि उत्कृष्ट मेहेनत गरेका छौँ । सस्तो र गुणस्तरीय भएकाले फल्चा बाहेक थुप्रै सरकारी संरचनामा कैदीबन्दीको सीप पुगेको छ ।”
कारागारमा सबैभन्दा बढी मूल्य पर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोश निर्माण हुन्छ । जसको मूल्य आठ लाख रहेको छ । एउटा चौकोश निर्माण गर्न तीनजना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेवलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गर्ने गरिएको छ ।