• ५ जेठ २०८१, शनिबार

निःस्वार्थ समाजसेवीको सम्झना

blog

‘सत्कर्म गर्नु, ढाँटछल नगर्नु, इमानदार बन्नु, कोही अन्यायमा परेको छ भने टुलुटुलु हेरेर नबसी त्यस्ताको उद्धार गर्नु, न्यायको पक्षमा बोल्नु, अरू कुरा त आफैँ राम्रो भइहाल्छ नि ।’

कुनै पनि मानिसले उल्लिखित कुरा पालन गर्छ भने त्यो व्यक्ति समाजका लागि पक्कै पनि उदाहरणीय व्यक्तित्व बन्दछ । सच्चा समाजसेवीमा हुने गुण नै यिनै  हुन् तर अचेल समाजसेवा पनि आर्थिक उपार्जन गर्ने पेसा बनेको छ । तपाईंको व्यवसाय के हो भनेर सोधिँदा गर्वका साथ ‘समाजसेवा’ भन्नेहरू धेरै छन् । वास्तविक समाजसेवा त निःस्वार्थ भावले गरिने कर्म हो । जुन कर्म सर्वजन हितायको सोचले गरिन्छ, त्यो नै समाजसेवा हो । यी माथिका अर्ती (उद्गार) पनि एक सच्चा समाजसेवीका हुन् । गुल्मी जिल्ला, धुर्कोट गाउँपालिकाको रजस्थलमा जन्मिएर समाजसेवीको रूपमा उच्च छवि निर्माण गर्नुभएका बासबहादुर जिसी भौतिक रूपमा स्वर्गारोहण हुनुभए पनि उहाँले गर्नुभएका सामाजिक कर्मका कारण चिरस्मरणीय बन्नुभएको छ । यसै सन्दर्भमा गाउँ समाजको चाहना अनुसार उहाँको परिवारद्वारा हालै एक स्मृतिग्रन्थ प्रकाशनमा आएको छ ‘बासबहादुर जिसी (संस्मरण सँगालो) ।’

विसं १९८० मा गुल्मी जिल्लाको धुर्कोट रजस्थलमा पिता ऐमानसिंह जिसी तथा माता पद्माकुमारी जिसीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका बासबहादुर जिसी (घर्तीक्षेत्री) त्यस भेकमा मात्र नभएर सिङ्गो जिल्लामै समाजसेवीको रूपमा परिचित हुनुहुन्थ्यो । आफू निरक्षर भएर पनि भाषा पाठशालादेखि प्राथमिक विद्यालय हुँदै माध्यमिक विद्यालय स्थापनासम्मका कार्य उहाँको अगुवाइमा भएका थिए । गाउँ समाजमा आइपर्ने गाह्रोसाह्रोमा तत्काल अघि सरेर भूमिका निर्वाह गर्ने, कुशल निर्णय क्षमता एवं न्यायका पक्षपाती बासबहादुरले राजनीतिलाई कहिल्यै महìव दिनुभएन । राजनीति गर्नेहरूसँग सचेत रहन आग्रह गर्नुहुने जिसीको भनाइ “राजनीति र पैसा एउटै व्यक्ति तथा घरमा पुग्यो भने देश र समाजलाई बसिखानु हुँदैन” यतिबेला पनि सार्थक र मननीय देखिएको छ । देशले जुन व्यवस्था अङ्गीकार गर्छ, त्यसैमा आस्था राख्नु नैतिक कर्तव्य हो भन्नुहुने जिसी धर्म, संस्कृति र रीतिरिवाजको पालनामा पनि उत्तिकै ध्यान दिनुहुन्थ्यो । उहाँको जीवनमा आइपरेका ‘सुख कम र दुःख बढी’ का अनेक सन्दर्भहरू संस्मरण कृतिमा समेटिएका छन् । परिवारका सदस्य, उहाँलाई नजिकबाट चिन्नेजान्ने एवं समकालीन पुस्ताका गरी ६८ वटा विविध सन्दर्भका आलेख पुस्तकमा समेटिएका छन् । सरसर्ती हेर्दा यी सामग्रीलाई शुभकामना खण्ड, संस्मरणात्मक खण्ड, कविता खण्ड, धुर्कोट परिशिष्ट र वंशावली एवं पारिवारिक फोटा गरी पाँच खण्डमा विभाजन गर्न सकिन्छ । यद्यपि पुस्तकमा यस किसिमको विभाजन भने गरिएको पाइँदैन । 

  बासबहादुरको जीवनकालमा निकै उतारचढाव आएको संस्मरणहरूमा उल्लेख छ । श्रीमतीको निधन हुनु, कलिलो उमेरमै लाडप्यारकी छोरीको निधन हुनु र दोस्रो विवाह गर्न बाध्य हुनु परेको सन्दर्भले पाठकका मन अमिलिन्छन् । दुई गुणका सन्तान (तीन छोरा डा. विष्णुबहादुर जिसी, कृष्णबहादुर जिसी, दानबहादुर जिसी र छोरी) बाट बुढेसकालमा यथेष्ट सेवा पाउनुभएको भए पनि ८० वर्षको उमेरमा आफ्नो जन्मथलो छोड्न बाध्य हुनु परेको तितो यथार्थले पाठकको मन अमिलो बनाइदिन्छ । आफ्नो जग्गा जमिन बेचेरसमेत सामाजिक कर्ममा लगाउने जिसीको जीवनमा कल्पनै नगरिएको घटना विसं २०५९ मङ्सिर १९ गतेको राति घटित भएथ्यो । ‘आफूले नबिराउनु, नडराउनु’ भन्नुहुने जिसी दम्पतीलाई मध्यराति घरबाट बाहिर निकालेर घरमा आगो लगाइयो । उहाँमाथि लगाइएको आरोप चाहिँ राज्यको सुरक्षा निकायमा सेवारत छोरोलाई जागिर नछोडाएको भन्ने थियो । माओवादी जनयुद्धका नाममा गरिएको यस किसिमको अग्निकाण्ड केन्द्रीय नीति अनुसारको थियो वा स्थानीय उच्छृङ्खल झुन्डको हो भन्ने यकिन नभए पनि घरमा आगो लगाएर त्यहीँ आगोमा गर्भिणी भैँसी पोली पकाएर खाएको, रातभर नाचगान गरेको वृद्ध दम्पतीले धुरु धरु रुँदै हेरेर रात कटाएको सन्दर्भ निकै पीडादायी छ । गाउँ नछोड्ने अठोट गरेर बसेका जिसी आफ्नो घर नभएपछि छोराहरूसँगै बस्ने गरी काठमाडौँ आउनुभएको थियो । उहाँको विसं २०६५ साउन ३ गते क्यान्सर रोगका कारण उपचारकै क्रममा सैनिक अस्पताल छाउनीमा देहावसान भएकोमा १५ वर्षपछि परिवारद्वारा संस्मरणात्मक कृति प्रकाशन गरिएको हो । 

बासबहादुरको उपस्थितिबिना समाजमा कुनै कर्म पनि हुँदैनथे । उहाँ सरायँ नाचमा निपुण हुनुहुन्थ्यो । कुलपूजा, देवाली, मरौँ पराैँ जस्ता काममा पनि समाजले उहाँकै उपस्थिति खोजी गथ्र्यो र उहाँ भएपछि सबै काम निर्विघ्न सम्पन्न हुन्थे । मठ मन्दिर निर्माण, सरकारी जग्गा संरक्षणलगायतमा उहाँको योगदानको स्मरण अधिकांशले गरेका छन् । भक्तपुरको गठ्ठाघरमा बस्न आउनुभएपछि पनि उहाँले शिव मन्दिर स्थापनार्थ उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको स्मरणमा पूर्वप्रशासक एवं साहित्यकार सूर्यबहादुर सेन वलीले पुस्तक नै प्रकाशित गर्नुभएको छ । 

प्रस्तुत संस्मरणात्मक सँगालो निकै वजनदार हुँदाहुँदै पनि सामग्री संयोजनमा भने उति ध्यान पुग्न नसकेको पाठकले अनुभव गर्ने छन् । यद्यपि, वर्णानुक्रम अनुसार राखिँदा यस्तो हुन गएको देखिन आउँछ । खण्ड विभाजन हुँदा पठनमा सुविधा प्राप्त हुने थियो । अङ्ग्रेजी भाषामा लेखिएका सामग्रीलाई मात्र छुट्टै खण्डमा दिन सकिएको भए नातिनातिनी पुस्ताका ती सामग्रीको गरिमा अझ उच्च हुने थियो । यसै गरी निकै पृष्ठ ओगटेको रमेश घिमिरेको खोजमूलक आलेख ‘धुर्कोट राज्य र समकालीन इतिहासको कथा’ पठनीय सामग्री हुँदाहुँदै पनि पुस्तकमा समाविष्ट गर्नु कति उपयुक्त थियो भन्ने तर्क उठ्न सक्छ । धुर्कोट राज्य स्थापनाको इतिहाससँगै घर्तीक्षेत्रीले पु¥याएको योगदानको लेखाजोखा भने यो आलेखले पनि गरेको छ । समग्रमा भन्नुपर्दा एक कुशल समाजसेवीप्रति श्रद्धासुमन अर्पण गरिएको कृति पठनीय छ । 

पुस्तकः बासबहादुर जिसी (संस्मरण सँगालो)

सम्पादन/सङ्कलनः डा. विष्णुबहादुर जिसी, कृष्णबहादुर जिसी, दानबहादुर जिसी

प्रकाशक : खिमकुमारी घर्तीक्षेत्री

प्रकाशन : २०८० असोज

पृष्ठ सङ्ख्या : ३७६   

Author

तुलसीहरि कोइराला