• ११ मंसिर २०८१, मङ्गलबार

धार्मिक पर्यटनबाटै समृद्धि

blog

आर्थिक समृद्धि र राष्ट्रिय अखण्डताको सुरक्षा साथसाथै लैजाने राजनीतिक विचारलाई सार्थक तुल्याउन प्रमुख दुई आधार महत्वपूर्ण देखिन्छन् । पर्यटन र परराष्ट्र नीतिको सफलता ती दुई आधार भएकाले त्यसतर्फ ध्यान दिनु सबैको जिम्मेवारी हो । खास गरी नेपाल जस्तो सानो मुलुकले छिमेकी विशाल दुई देशका बिचमा सुरक्षित रहँदै आर्थिक समृद्धि हासिल गर्नु ठुलो चुनौती हो । 

सरकार, राजनीतिक दल, नागरिक समाज तथा अर्थशास्त्रीका लागि राष्ट्रिय चिन्तनको कुरा गर्दा मूलभूत आधार पहिल्याउन कठिन हुने गरेकाले नै होला, समृद्धि र सुरक्षालाई साथसाथै लैजाने ठोस योजना देखिन्न । राजनीतिक आदर्शको कुरा गर्नेले आर्थिक योजना ल्याउन नसक्ने तथा अर्थशास्त्री र योजना आयोगले सुरक्षाको कुरा जोड्न नजान्नाले राष्ट्रिय सङ्कल्प पनि स्पष्ट हुन सकिरहेको छैन । दक्षिण भारत सरकारले नेसन्स फस्र्ट नारालाई सङ्कल्पका रूपमा उठाइरहँदा हामी भने छामछुममै हराइरहे झैँ भइरहेको स्थिति समाप्त पार्दै समृद्धि र सुरक्षाको ग्यारेन्टी गर्न निम्न कुरामा ध्यान दिनुपर्ने देखिन्छ : 

धार्मिक पर्यटन र छिमेकी आकर्षण 

विश्वका सम्पूर्ण हिन्दु र बौद्ध धर्मको अस्थाको केन्द्रका रूपमा रहेका देवता रहेको हाम्रो मुलकमा जीवनमा एक पटक आउनैपर्ने भएकाले धार्मिक पर्यटन महत्वपूर्ण क्षेत्र बन्न पुगेको छ । दक्षिण छिमेकको विश्वकै ठुलो जनसङ्ख्या र उत्तर छिमेकीको जनसङ्ख्याको थोरै मात्रै पनि नेपाल भित्र्याउँदा धार्मिक पर्यटनले समृद्धिमा ठुलो योगदान दिन सक्छ । परम्परागत ढङ्गले प्रचारप्रसार तथा आवतजावत भइरहेको अवस्थामा संस्थागत तथा आधुनिक माध्यमलाई उपयोग गर्न सक्दा पर्यटक सङ्ख्या धेरै गुणाले वृद्धि हुने छ । धार्मिक पर्यटनलाई आकर्षित गर्न कुनै व्यावसायिक पहल नभइरहेको देख्दा नेपाल पर्यटन बोर्डदेखि व्यवसायीको अज्ञानतालाई विश्लेषण गर्नुपर्ने हुन्छ । उपेक्षित धार्मिक पर्यटनलाई नियोजित ढङ्गले बजारीकरण गर्न सक्दा वार्षिक २० लाख पर्यटक भित्रिन सक्छन् । 

पशुपतिनाथ र विश्व व्यवस्था

जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्नुपर्ने धार्मिक मान्यतालाई नयाँ विश्वव्यवस्थाको आधारशिलाका रूपमा समेत प्रचारप्रसार गर्न सक्दा चाँडो पशुपतिनाथको दर्शन गर्न जाने उत्साह बढ्नुका साथै केही दिन बस्ने इच्छा जाग्ने छ । पशुपतिनाथको दर्शन पूजनसँगै विश्वलाई आकर्षित गर्ने शिवको दर्शनबारे पनि जानकारी प्राप्त गर्ने प्रयास गर्दै नेपाल बसाइ लम्बाउने छन् । नेपालस्थित प्राचीन शैव तीर्थ, चौसट्ठी ज्योर्तिलिङ्गप्रति पनि आस्था बढ्न गई आन्तरिक पर्यटनको पनि वृद्धि हुने देखिन्छ । अशान्त र द्वन्द्वरत विश्वलाई शान्तिमा रूपान्तरण गराउन र शिवको महत्व बताउन नेपाल भ्रमण गर्ने मनोविज्ञान बढेर पर्यटक नेपाल आउने छन् ।

विश्वमा रहेका कथावाचक पशुपतिनाथ र विश्वव्यवस्थाबारे प्रवचन गर्न आफ्ना शिष्य र भक्तसहित नेपाल आउने क्रम बढ्ने छ । प्रकृति र ईश्वरीय विश्वव्यवस्थालाई सर्वमान्य बनाउने शिवस्वरोदयको विश्वकेन्द्रका रूपमा पशुपतिनाथले ख्याति पाउने छ । सूर्य र चन्द्रमाको भ्रमणबाट मानवको शरीरमा हुने स्वर परिवर्तनबारे अध्ययन गर्ने केन्द्र पनि पशुपतिनाथ बन्न गई ३६५ दिन नै महत्वको दिन प्रमाणित हुने छ । शिवको दैनिक साधना र दैनिक रुद्री पाठका कारण विश्वव्यवस्थाको आधार प्रमाणित हुन गई नयाँ गन्तव्यका कारण बन्ने छ ।

लुम्बिनी र विश्व बौद्ध केन्द्र

बुद्धको जन्मस्थलका रूपमा सम्मानित लुम्बिनीमा इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिष्ट एन्ड हेरिटेजको निर्माणसँगै बढ्दै गएको बुद्धका दर्शनार्थीले धार्मिक पर्यटनमा वृद्धि गराइरहेको छ । विश्वका बौद्धधर्मावलम्बीको आस्था र आकर्षणको केन्द्र लुम्बिनीमा पर्यटक बढाउन कम्बोडिया र श्रीलङ्कासँग सिधा हवाई सम्पर्क स्थापना गर्ने प्रयास पनि उल्लेखनीय छ । चीन, जापानलगायतका विभिन्न देशबाट निर्माण भएका बौद्ध केन्द्रका साथै कम्बोडियाका पूर्वप्रधानमन्त्री हुनसेनसमेतको लुम्बिनी भ्रमणले बौद्धमार्गीको सङ्ख्या बढ्ने सम्भावना रहेको छ । 

काठमाडौँमा एसिया प्यासेफिक सम्मेलन सन् २०१८ का अवसरमा बर्माकी नेतृ आङ साङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुनसेनलगायत विश्वका नेताहरूको लुम्बिनी भ्रमणले त्यो वर्षको ट्राभल गाइड लोनली प्लानेटले समेत महìवका साथ उल्लेख गरेको पाइन्छ । हालै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणपश्चात् हरेक महिना विश्व शान्ति सम्मेलन स्थलका रूपमा सभाहरूको आयोजना गरी धार्मिक पर्यटक वृद्धि गराउन योजना ल्याउनु आवश्यक छ । शान्ति शिक्षाको विश्व केन्द्रका रूपमा अगाडि बढाउन सक्दा शैक्षिक पर्यटनसमेत वृद्धि हुन जाने छ । एकीकृत प्रयासको अभावमा सम्भाव्य पर्यटन क्षेत्रबाट लाभान्वित हुन सकिएको छैन । विश्व बौद्ध केन्द्रमार्फत विभिन्न पर्यटन प्याकेज बनाउन सक्दा दोब्बर सङ्ख्यामा पर्यटक वृद्धि गर्न सकिन्छ । 

रामायण र नेपाल

जनकपुरस्थित माता जानकीको मन्दिर भारतलगायत विश्वका हिन्दुको आकर्षणस्थल भएकाले त्यसका लागि विशेष पहल गर्दा धार्मिक पर्यटनको वृद्धि सहजै हुन जाने छ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरका कारण भागवान् रामका साथै सीताको पनि महत्व बढ्न गई जनकपुरको दर्शन र भ्रमण गर्नेहरूको सङ्ख्या बढेर जाने छ । पाँच सय वर्षभन्दा पनि बढी समयदेखि विवादित भारतको रामभूमिको विवाद सर्वोच्च अदालतबाट समाधान भएपछि त्यहाँ राममन्दिर निर्माण भएको छ । मन्दिर निर्माण हिन्दुधर्म मान्नेहरूका लागि खुसीको विषय बनेको छ । 

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले अयोध्या आउन सहज हुने भएकाले जनकपुरमा पनि माता सीताको दर्शन गर्नेहरूको सङ्ख्या बढेर जाने छ । त्यसका लागि नेपाली पक्षले जानकारीमूलक प्रचारप्रसार सामग्री उत्पादन गर्दै बजारीकरण गर्नुपर्ने छ साथै नेपाल–भारत चेम्बर अफ कमर्स, प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा सांस्कृतिक समिति, पर्यटन व्यवसायीले दुवै देशका पर्यटन विभागसँग सम्बन्ध बढाउँदै धार्मिक पर्यटनको खाका दिन सक्नुपर्ने छ । नेपालमा रहेका भगवान् रामका मन्दिरहरू, बाल्मीकि आश्रम, अयोध्यापुरी, ऋङ्गी ऋषि आश्रमहरूमा पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेर जाने छ । भानुभक्त रामायण, रामराज्यम् खण्डकाव्य, सङ्गीतमय रामायण तथा ‘सभ्यता, संवाद र राममन्दिर’ जस्ता लेखका कारण रामसाहित्य पनि पर्यटनको आकर्षण बन्न सक्ने छ । 

शालिग्राम र मुक्तिक्षेत्र

विश्वका हिन्दुका लागि पूजनीय शालिग्रामको दर्शन गर्ने पर्यटकलाई अझ आकर्षित गर्ने कार्यक्रम ल्याउन सकिन्छ । त्यहाँभन्दा माथि उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्डप्रति त्यति नै आकर्षण रहेको पाइन्छ । भारतका प्रसिद्ध धार्मिक सम्प्रदाय स्वामीनारायणका आदि गुरुले त्यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेकाले गुजराती समुदायमा गण्डकी क्षेत्रसहित मुक्तिनाथ, दामोदारकुण्डप्रति अगाध श्रद्धा रहेको पाइन्छ । आर्थिक रूपले सम्पन्न स्वामीनारायण सम्प्रदायकको प्रमुख आकर्षणको त्यस क्षेत्रको प्रचारप्रसार तथा राम्रो व्यवस्थापन गर्दा पर्यटन प्रवर्धनमा ठुलो योगदान पुग्ने निश्चित छ । 

चार नारायण, चार गणेश

काठमाडौँ उपत्यकाका चार नारायण तथा चार गणेश भारतीय धार्मिक गुरु र भक्तका लागि ठुलो आकर्षणको केन्द्र रहेको छ । भारतको मुम्बईमा गणेश चतुर्थीका अवसरमा हप्ता दिनसम्म मनाइने गणेश महोत्सव झैँ नेपालमा पनि चार गणेश यात्रा तथा पूजन प्याकेज बन्न सक्छ । सम्पूर्ण दक्षिण भारतमा भगवान् विष्णुप्रति रहेको आस्थालाई उपत्यकाका चार नारायण भ्रमण तथा पूजन प्याकेज बनाउन सक्दा थामी नसक्नु पर्यटनको आगमन हुने छ । 

काठमाडौँको हनुमानढोका, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्रमा रहेको देवीदेवताकेन्द्रित पूजन प्याकेज बनाउन सक्छ । पर्यटक वृद्धिसँगै बसाइ पनि लम्ब्याउन सकिन्छ । भक्तपुरस्थित दत्तात्रेय मन्दिर भारतमा पनि आस्था र आकर्षणको केन्द्र रहेकाले विशेष पूजन प्याकेज बन्न सक्छ । सुनसरी जिल्लास्थित बराहक्षेत्र, चितवनको बाल्मीकि आश्रम, चितवन र तनहुँ जिल्लास्थित देवघाट, त्रिवेणीधाम, देशभर रहेका गोरखनाथ मन्दिर, दक्षिणकाली, बुढानीलकण्ठ, पलाञ्चोक भगवती, बौद्धनाथ, स्वयम्भू, पाथीभरा, मानसखण्ड, विराटसर्किट, सर्वत्र पर्यटकको वृद्धि गर्न सकिन्छ । 

सौम्य शक्ति र प्रगति

धार्मिक, सांस्कृतिक मान्यता र स्थलहरू नेपालको गौरव र प्रभाव बढाउने क्षेत्र भएकाले सौम्य शक्तिका रूपमा नेपालको हितमा उपयोग गर्न सकिने महत्वपूर्ण क्षेत्र हुन् । साथै तिनै धार्मिक स्थल र मान्यताका आधारमा पर्यटक वृद्धि गराई आर्थिक समृद्धि हासिल गर्न सकिने हुँदा नेपालका लागि वरदान नै साबित हुन सक्छ । मुलुकको परराष्ट्र नीतिको सफलतामा सौम्य शक्तिको प्रभाव महत्वपूर्ण रहनुका साथै आर्थिक समृद्धिमा पनि गेमचेन्जरका रूपमा योगदान दिन सक्ने हुँदा पर्यटन र परराष्ट्र नीति हाम्रा लागि प्रमुख अस्त्र नै बन्ने छन् । सबै मुलुकसँग समान व्यवहार गर्दै आर्थिक समृद्धिका साथै विश्वप्रभाव बढाउन पर्यटन र परराष्ट्र नीतिलाई महत्व दिनु आजको आवश्यकता हो ।

   

Author

केशवप्रसाद चौलागाई