• २ असार २०८२, सोमबार

पाथीभरा क्षेत्रमा पाँच हजार बिरुवा रोपियो

blog

पाथीभरा मुक्कुमलुङ क्षेत्रमा वृक्षारोपण गर्दै मुक्कुमलुङ संरक्षण अभियन्ताहरू। तस्बिर: गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको छ । मुक्कुमलुङ संरक्षण अभियानअन्तर्गत पाथीभरा क्षेत्रमा उक्त सङ्ख्यामा विभिन्न बिरुवा रोपिएको हो ।

पाथीभरामा निर्माण सुरु गरिएको केबलकार खारेजीको माग गर्दै ‘नो केबलकार’ पक्षको अगुवाइमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरी पाँच हजार बिरुवा रोपिएको हो । पाथीभरा क्षेत्रमा शनिवार र आइतबार दुई दिन वृक्षारोपण गरिएको थियो । मुक्कुमलुङ संरक्षण अभियन्ता सरस्वता सिङ्घक (सरु) का अनुसार लाली गुराँस, चिमाल, लौठ सल्ला, ढ्याङ्ग्रे सल्ला, गोब्रे सल्ला, बलुलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

पाथीभरा धाम परिसर, काफ्ले पाटी, बलुडाँडा, टावर डाँडासहित केबलकार परियोजना निर्माणका लागि रुख कटान गरिएको सबै क्षेत्रमा बिरुवा रोपिएको अभियन्ता सिङ्घकले बताउनुभयो । उहाँका अनुसार केबलकार विरुद्धको आन्दोलनकै निरन्तरताअन्तर्गत पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा वक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्राडा महेन्द्र लावती, किराँत याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनसमेत सहभागी हुनुभएको उहाँले जानकारी दिनुभयो ।

यसै गरी चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका अभियन्ता दीपक यादव, जैविक दार्शनिक मोहन तिमल्सिना लगायतका नेतृत्वको सहभागिता रहेको थियो । ऐतिहासिक तथा धार्मिक पवित्रस्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माण गरेर ऐतिहासिक पहिचानमाथि अतिक्रमण गर्न लागिएको भन्दै सुरुदेखि नै नो केबलकार पक्ष आन्दोलन गर्दै आइरहेको छ । 

नो केबलकार पक्षमा मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समिति आबद्ध छन् । नो केबलकार पक्षले कुनै पनि हालतमा केबलकार बन्न नदिने र परियोजना खारेज नगरेसम्म आन्दोलन जारी पनि राख्ने जनाएका छन् । पाथीभरा क्षेत्रमा चन्द्र ढकाल नेतृत्वको पाथीभरा दर्शन केबलकार कम्पनीले केबलकार निर्माण गर्न सुरु गरेको हो ।