• १३ साउन २०८१, आइतबार

नाटकमय सहर

blog

काठमाडौँ, माघ १३ गते । अचेल काठमाडौँका नाटकघर भरिभराउ देखिन थालेका छन् । राजधानी सहर भित्रभित्रै नाटकमय बन्दै छ । नाटकघरमा नाटक मात्रै मञ्चन भएका छैनन्, दर्शकको उपस्थिति पनि उत्साहजनक देखिन थालेको छ । थिएटरमा दर्शकको उपस्थितिले नेपाली नाट्यकर्ममा बहार आएको नाट्यकर्मीको अनुभव छ । सबै थिएटरमा नाटक मञ्चन भइरहँदा नाट्यकर्मी उत्साहित छन् ।

नाटक रुचाउने दर्शक दिनानुदिन बढ्दै जानु रङ्गकर्म गर्नेका लागि मात्र नभएर नेपाली कला तथा वाङ्मय क्षेत्रका लागि पनि खुसीको कुरा भएको रङ्गकर्मी कमलमणि नेपाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नाट्य क्षेत्र अब धेरै माथि उठिसक्यो । नाटकप्रति आममानिसको बुझाइ हिजोभन्दा अहिले फरक हुँदै गएको छ । अर्कोतर्फ नाट्यकर्मीले पनि नाटक राम्रो बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।” रङ्गकर्मी विजय बराल भन्नुहुन्छ, “नाटक एउटा अभिव्यक्तिको माध्यम हो । यसलाई जतिसक्दो मनोरञ्जनात्मक बनाउनु पर्छ । दर्शकलाई भरपूर तरिकाले सन्देश दिन सक्नु पर्छ ।” उपत्यकाभित्र धेरै स्थानमा  थिएटर हल खुल्नाले पनि रङ्गकर्मी निकै हौसिएका छन् । त्यसमाथि नाटकको बजारले काठमाडौँमा मात्र नभएर मोफसलमा पनि बजार तताउन थालेको छ । अहिले निरन्तर जस्तो नाटक मञ्चन र नाटकबारे बहस हुन थालेको बताउनुहुन्छ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की । कार्कीका भनाइमा पहिला खुला सडक र साँघुरा गल्लीमा मञ्चन हुने नाटक अब सुविधासम्पन्न मञ्चहरूमा देखाउनु नै ठुलो उपलब्धि हो ।

नाटकप्रतिको मोह बढ्दै जानु र नाटक रुचाउने दर्शक दिनानुदिन बढ्दै जानु रङ्गमञ्चका लागि मात्र नभएर नेपाली कला तथा वाङ्मय क्षेत्रका लागि पनि धेरै खुसीको कुरा भएको रङ्गकर्मी तथा निर्देशक विमल सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यति बेला नेपालमा मौलिक र उत्कृष्ट नाटक मञ्चन हुने मात्र नभई कलाकारको उपस्थिति र आकर्षण पनि उल्लेखनीय रूपमा बढेको छ । यो थप खुसीको कुरा हो ।” केहीअघिसम्म नेपाली कला क्षेत्रमा अन्य विधाको तुलनामा कमजोर मानिएको रङ्गमञ्च यतिखेर फेरि लोभलाग्दो गरी मौलाएको छ । दर्शकको भिड र मागका कारण नाटकघर भरिनुले पनि नेपाली रङ्गमञ्चले फड्को मारिरहेको देखिन्छ । अहिले महँगोमा टिकट किनेर चलचित्र हेर्न हल धाउने दर्शक नाटकघरमा धेरै देखिन थालेका छन् । दिनानुदिन नाटकघरमा दर्शकको भिड देखिनुले पनि नेपालमा नाटकको भविष्य उज्ज्वल भएको भान हुन थालेको छ ।