• १५ मंसिर २०८१, शनिबार

विश्व शान्तिका लागि संवादमा जोडिन आग्रह

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार भेटघाटका क्रममा । तस्बिर : प्रम सचिवालय

काठमाडौँ, माघ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबिच संवादमा  जोडिनुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

निःशस्त्रीकरण मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घको निकाय (युएनओडिए) का तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको बताउनुभयो । “अहिले विश्वका कैयौँ क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन्,” उहाँले भन्नुभयो, “रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।” उहाँले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको स्मरण गराउनुभयो । 

संयुक्त राष्ट्रसङ्घको महासभामा अति कम विकसित देशहरूको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा चर्चा गर्दै उहाँले शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घका प्रयासमा सदैव साथ दिने बताउनुभयो । 

“विश्व शान्ति तथा नियन्त्रणका पक्षमा संयुक्त राष्ट्र सङ्घले खेलेको भूमिका प्रशंसनीय छ,” उहाँले भन्नुभयो, “हामी संयुक्त राष्ट्रसङ्घका हरेक कदममा साथ छौँ र भविष्यमा  साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” उहाँले नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने दाबी गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निःशस्त्रीकरण मामिलाका दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताउनुभयो ।