• १३ साउन २०८१, आइतबार

प्रदेश विपद् ऐन संशोधन विधेयकमाथि छलफल सुरु

blog

प्रदेश सभा बैठकमा उपस्थित प्रदेश सभा सदस्य । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १२ गते । सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल सुरु गरिएको छ । 

आज बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टको प्रस्तावमा संशोधन विधेयकमाथि सामान्य छलफल गरिएको हो । छलफलमा प्रदेश सभा सदस्यहरू मेघराज खड्का, अक्कलबहादुर रावल, धर्मराज पाठक र टीका थापाले भाग लिनु भएको थियो । 

उहाँहरूले सुदूरपश्चिमले प्राकृतिक विपद् भोग्दैआएको र अझै पनि ठुलो विपद्को जोखिम रहेकाले जोखिम न्यूनीकरणका लागि ऐन बन्न आवश्यक रहेको औँल्याउनुभयो । प्रदेश सरकारले पूर्व तयारीमा ध्यान दिन जरुरी रहेको उहाँहरूको भनाइ छ । 

छलफलको क्रममा उठेको विषयमा जवाफ दिनुहुँदै मन्त्री भट्टले सङ्घले विपद्सम्बन्धी ऐन संशोधन गरिसकेकाले ऐनमा एकरूपता ल्याउन संशोधन विधेयक ल्याएको बताउनुभयो । उहाँले राहत वितरण प्रक्रियामा पनि फरक देखिएकाले त्यसमा समानता कायमका लागि ऐन संशोधन गर्न लागेका बताउनुभयो । प्रदेश सभाको अर्को बैठक माघ १६ गते दिउँसो २ बजे बोलाइएको छ ।