• १३ साउन २०८१, आइतबार

गण्डकीमा सत्ता गठबन्धनका तीन उम्मेदवार विजयी

blog

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट विजयी तीन उम्मेदवार ।

रमेश पौडेल/फडिन्द्र अधिकारी

पोखरा, माघ ११ गते । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेशबाट अन्यबाट किरणबाबु श्रेष्ठ, महिलाबाट मनरुपा शर्मा र अपाङ्गता तथा अल्पसङ्ख्यकबाट पदम परियार निर्वाचित हुनुभएको हो ।

बिहीबार साँझ भएको कार्यक्रममा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको छ । गण्डकीका निर्वाचन अधिकृत ऋषिराम आचार्यले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्नुभएको छ । समारोहमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सङ्घीय सांसद देवेन्द्र पौडेलले पनि बोल्नुभएको थियो ।

महिलातर्फ माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी मनरुपा शर्मा तीन हजार छ सय ६० मतभारसहित विजयी बन्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी सम्झना देवकोटाले दुई हजार पाँचसय ५३ मत पाउनुभएको छ । महिला क्लस्टरमा उम्मेदवारी दिनुभएकी राप्रपाकी गौमाया श्रेष्ठले एक सय ६ मत पाउनुभयो । 

अपाङ्गता क्लस्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनबाट उहाँले तीन हजार सातसय ७४ मतभार पाएर विजयी भएका हुन् । परियारलाई स्थानीय तहतर्फ एकसय एक र प्रदेश सभातर्फ ३५ जनाले मत दिएका थिए । परियारका प्रतिद्वन्द्वी एमालेका हेमचन्द्र शेरचनले दुई हजार चारसय ५८ मतभार पाउनुभएको छ । 

प्रदेशको अन्य क्लस्टरबाट नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्रीसमेत रहनुभएका किरणबाबु श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले तीन हजार आठसय आठ मत पाउनुभयो । सोही पदमा उम्मेदवारी दिनुभएका एमालेका उम्मेदवार चक्रबहादुर पराजुलीले दुई हजार चारसय ७७ र राप्रपाबाट उम्मेदवारी दिनुभएका रोमबहादुर भण्डारीले एकसय ६ मत पाउनुभयो ।  

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुईसय २९ जनाले मतदान गर्नुभएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपालबाहेक सबैले मतदान गर्नुभएको हो । एमालेबाट निर्वाचित प्रमुख नेपाली सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन हुनुहुन्छ । 

गण्डकीमा एमालेसँग कुल मतभार दुई हजार चार सय ५८ र सत्ता गठबन्धनको मतभार तीन हजार आठ सय २७ छ । निर्वाचनमा महिला क्लस्टरमा स्थानीय तहतर्फ ५ जनाले फ्लोरक्रस गरेको देखिएको छ । अपाङ्गतातर्फ तीन जनाले हालेको मत बदर देखिएको छ । महिलातर्फ प्रदेश सभा सदस्यतर्फ एक र स्थानीय तहतर्फ पाँच जनाले फ्लोरक्रस गरेको देखिएको छ ।