• १३ साउन २०८१, आइतबार

कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित

blog

कोशीमा गठबन्धनबाट निर्वाचित कृष्णप्रसाद सिटौला र एमालेकी उम्मेदवार रुक्मिणी कोइराला ।

शशिधर पराजुली 

विराटनगर, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । सिटौला ७३० मत अन्तरले विजयी हुनुभएको हो । 

सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका सिटौलाले विपक्षी नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभयो । 

प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५ हजार २९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मत प्राप्त गर्नुभएको छ । 

नेता सिटौलाले कुल ९३ जना प्रदेश सभा सदस्य मध्ये ४५ जनाको मत प्राप्त गर्नुभयो भने पौडेलले ४७ जनाको मत प्राप्त गर्नुभयो । एक मत भने बदर भएको छ ।

यस्तै कोशीबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित निकाल्नु भएको हो । 

प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्दा कार्कीले ४ हजार ९९२ मत मात्र प्राप्त गर्नुभयो । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो । 

कूल ९३ जना प्रदेश सभा सदस्यमध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गर्नुभयो भने कार्कीले ४४ जनाको मत प्राप्त गर्नुभयाे ।