• १३ साउन २०८१, आइतबार

डुङ्गा चलाउने पेसा सङ्कटमा

blog

रामवृस सहानी । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, माघ ११ गते । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम हिजोआज सबैको रोजाइमा पर्ने गर्छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । 

धार्मिक दृष्टिकोणले भारतको प्रयाग र नेपालको त्रिवेणी धाम श्रद्धा र आस्थाको केन्द्र मानिन्छ । तीन नदीको सङ्गम त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्ने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करिब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न थालेको हो । तर त्रिवेणीमा डुङ्गा चलाउने माझीको अवस्था भने दयनीय बन्दै गएको छ । विकल्पमा अन्य पेसा खोज्न माझी लागि परेका छन् । 

विगत दुई दशक अघिदेखि बिहान झिसमिसे नहुँदै त्रिवेणीधाममा पुग्ने र घाम डुबेपछि मात्रै फर्किने रामवृस सहानीको दिनचर्या बनेको छ । उमेर बुढो भएपनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । त्रिवेणीमा डुङ्गा चलाउँदै आउनुभएका सहानी पछिल्लो समय डुङ्गा चढ्नेहरूमा कमी आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो जात नै डुङ्गा चलाउने हो । बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिकेको हुँ । सानै उमेरदेखि गर्दै आएको काम हो । यही नदिका डुङ्गा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै प¥यो ।”

पहिले यहीबाट डुङ्गा चलाएर सामान ओसारपसार हुन्थ्यो । यताबाट नुन र मत्तिेल देशका विभिन्न सहरमा देवघाट, नाराणघाट हुँदै पुर्‍याउने गरेका थियौँ । फर्किदा रासनपानी, चाल ,चामल, फलफूल, सुठो लगायतका सामान ल्याउँथ्यौ । राम्रो आम्दानी भएको थियो । अहिले हाम्रो पेसा सङ्कटमा परेको छ, सहानीले भन्नुभयो, “राजमार्ग बने, नदिको विभिन्न स्थानमा पुल निर्माण भएपछि डुङ्गा चढ्ने मानिसहरूमा समेत कमी आएको छ । झोलुङगो पुल निर्माणसँगै आफ्नो पेसा नै सिद्धिने समेत चिन्ता छ । ”

त्रिवेणीमा डुङ्गा चलाउने अर्का राधेस्वर सहानीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेलुकासम्म डुङ्गा खियाउन उहाँ व्यस्त हुनुहुन्छ । विगतमा १५।२० वटा डुङ्गा चल्ने त्रिवेणीमा अहिले ९ वटा मात्र रहेको राधेस्वर बताउनुहुन्छ । पहिला जस्तो अहिले केही छैन सबै परिवर्तन हुँदै गएको छ तर हामी भने नदी किनारमै छौँ डुङगा चढ्ने मानिसको पर्खाइमा । माघेऔँसी मेलामा भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जाने बाहेक अन्य मानिस डुङ्गा चढ्न छोडिसकेको उहाँको भनाइ छ ।

नदिका डुङ्गा चलाएर घर खर्च चलाउँदै आउनुभएका चिरन गुरुङ पनि पछिल्लो समय आम्दानीको स्रोत नहुँदा चिन्तामा परेको बताउनुहुन्छ । अहिलेसम्म घर खर्चको माध्यम नै यही डुङ्गा बनेको छ, अरू केही काम गरौँ भने सिप नभएको उहाँले बताउनुहुन्छ । यहीबाट आएको पैसाले परिवारको खर्चदेखि केटाकेटीको पढाई खर्च उठ्ने गरेको छ । 

त्रिवेणी धामलाई मुलुकै पर्यटकीय स्थलका रूपमा विकास गर्नुको साथै माघे औँसीमा मात्र नभई अन्य समयमा डुङ्गालाई पनि चलायमान गर्न सक्ने हो भने माझीलाई केही राहत मिल्ने गजेन्द्रमोक्ष दिव्यधाम विकास समितिका निर्देशक झपेन्द्रश्वर भुषालले बताउनुभयो ।