काठमाडौं, माघ ११ गते । नेपाली चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्र फागुन ११ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । कार्यक्रममा बोल्नुहुँदै निर्देशक मिलन च्याम्सले कलाकार सबै बराबर भएकाले सानो कलाकार भनेर कसैले हेप्न नहुने बताउनुभयो ।
निर्देशक च्याम्सले सानो कलाकारको सहयोग बिना कुनै पनि कलाकार सुपरस्टार बन्न नसक्ने बताउनुभयो । सिनेमाले देशका सुरक्षा फोर्समा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने ? भनेर पनि सिकाउने जानकारी दिनुभयो । उहाँले यस सिनेमाले साँच्चिकै कसरी युद्ध गर्ने भन्ने कुरा सिकाउने बताउनुभयो ।
फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ । यो फिल्म वास्तविक घटनामा आधारित रहेको बताइएको छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, सुमीन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ ।
लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइबा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन् ।