• १८ वैशाख २०८१, मङ्गलबार

समयको द्वन्द्व

blog

‘अब यो दिन पनि आयो !’ उसको मनमा सोचाइ पनि झ्वाट्ट आइपुग्छ, जब विमानस्थलमा आफ्नो हितैषीलाई बिदाइको हात अन्तिम पल्ट हल्लाउँछ । 

–“म अरू जस्तो होइन, यहीँका लागि जन्मिएको हुँ । जो जहाँ जान चाहे जाऊन्, म यहीँ गर्छु, जे गर्नु छ ।” भन्ने पनि जाँदै छ अब त अन्त्यमा । 

जसै विमानस्थलबाट फर्कन थाल्छ, ऊ अचम्मको लोकमा पो पुग्छ । अन्य दिनभन्दा केही खट्के झैँ लाग्छ । सहर त्यही हो, लहरै अग्ला अग्ला घरैघर ठहरिएका । अन्य दिन त सवारीसाधनका ट्याट्याटुटुले कानको जरा उखेल्दै मस्तिष्कमा लात बर्साउँथ्यो, अब त नाकलाई समेत कुनै बाधा भइरहेको छैन, थोपै देखिँदैन धुलो उडेको । हैन, के हुँदै छ आज एक्कासि !

सहर न हो, सधैँ जस्तो एकअर्कालाई गडेर हेर्दै उभिरहेका घरैघर, तर मान्छे कतै देखिँदैन । यता हेर्छ, ऊ उता हेर्छ, अहँ, कतै कोही देख्तैन आफूबाहेक । पूरा सहरै अपहरणमा त परेन ! सधैँ एकान्तको खोजीमा भड्किरहने अस्तव्यस्त मन पनि अब त तर्सिन थाल्दै छ, चुक घोप्ट्याएको जस्तो त्रासद सुनसान देखेर । कुनै महारोग फैलिए जस्तो, ठुलै प्रलय गए जस्तो, सबै जना हत्तपत्त सहर छाडेर बेपत्ता भएका छन् ।

‘लौ न ए, म त खाली खाली हुन थालेँ !’ गाउँ चिच्याउँथ्यो पहिला, अब सहर यस्तो । यो पनि चिच्च्याउँछ कि भनेर ऊ पर्खन्छ पनि, तर अचम्म ! बडेमानको शून्यता पो चिच्च्याउँदै गाउने, नाच्ने गर्न थालेको ऊ देख्छ । 

जिल्लिँदै ऊ अघि बढ्छ । अगाडि लहरै ठेलमठेल गरिरहेका बङ्गला छन्, सम्पूर्ण झ्यालढोका खोलेर मानौँ जताइरहेका छन्, कोही आओस् कि जाओस् । 

एउटा बङ्गलाभित्र छिर्छ पनि । स्तर अनुसारका कोठा चिरिच्याँट्ट अझै छँदै छन्, हैन, हामीले कसको के बिगारिदिएका छौँ र हाम्रो कुनै कदर नभएको भनेर सोधिरहे जस्तो । के भइरहेको छ, सोच्दै ऊ भित्र पाइला सार्छ त नजिकैको टेबलमा ठोक्किएर किताब खस्छ । उठाउन खोज्दा त झन् आश्चर्य, किताब आफैँ उठ्छ र मानवाकृतिमा परिणत भएर आफ्ना पन्नाहरू खरर पल्टाउँदै देखाउँछ । एउटा पन्नामा लेखिएको अक्षर ठुलो पारेर देखाउँछ– नेपालका जलस्रोतमा हजारौँ मेगावाट विद्युत् क्षमता छ । अनि फेरि बन्द गरेर त्यो आकृति “अब यो...!” रुन्चे बोली निकाल्दै निन्याउरो अनुहार लगाउँछ । अन्त्यमा फेरि किताबै बनेर भुइँमा फ्यात्त खस्छ र देख्दादेख्दै एकिछनमै कुहिन थाल्छ । 

गनाउन थालेपछि ऊ बाहिरिन्छ । अर्को घर झन् दुई हात फैलाएर उसैलाई स्वागत गरिरहे झैँ देखिन्छ । त्यहाँभित्र पनि उसले सानो मुसोधरी फेला पार्न सक्तैन । बरु हस्तकलाका तयारी सामानहरू खातैखात मिलाएर राखिएको देख्छ । कति आकर्षक ती हस्तकलाका सामानहरू ! ऊ नियाल्न मात्र के लागेको हुन्छ, ती सब एक साथ कराउन थाल्छन्– “के हामीले यसरी नै कोचिएर बस्नुपर्ने हो ?”

ऊ अकमकमा पर्छ । ती हस्तकलाहरू राखिएको खातबाट हुरुरु उडेर अगाडि घेर्न आइपुग्छन् । “यस्तो कुराको उत्तर म कसरी दिन सक्छु ?” बरबराउँदै ऊ फुत्त बाहिरिहाल्छ । 

–“हैन, कहाँ हुर्रिएछन् सबका सब !” बाहिरको शून्यता खपिनसक्नु भएर आउँछ । 

लौ, यो के हुँदै छ ! उसकै अगाडि बेसरी हुरी चल्न थाल्छ, भुँवरी जस्तो गोलगोल हुने गरी । त्यही हुरीले उसलाई आकाशतिर पो लैजान्छ । गुन्दु्रङ्ग खसालिदियो भने ? ऊ डराउँछ पनि तर हुरीले उसलाई छाड्दैन, बरु उडाएरै एकातिर लैजान्छ । अरू विमानबाट उड्दै कताकता पुगे धमाधम, ऊ भने आफ्नै परिवेशमा उड्दै छ । ऊ देख्छ, कतिपय शक्तिपीठ, मठमन्दिर पनि शून्यताको विशाल खास्टोमा लटपटिएका छन् । तलबाट देखेको थिएन अझसम्म, अब माथिबाट पो देख्दै छ, ती धार्मिक स्थलहरूमा आउने सबै बाटाहरू अस्तव्यस्त रहेछन् । 

ओह ! यो त... कुन चाहिँ हो, वनमा पो ल्याइपु-याएको छ त हुरीले । ऊ आश्चर्यले यताउता हेर्छ । वनका सबै रूख उदासउदास पो देखिएका छन् त । तलपट्टि रङ्गीबिरङ्गी जडीबुटीहरू हाँसिरहेका देखिन्छन् । ऊ हेर्न थाल्छ । हाँसिरहेका जडीबुटीहरू निन्याउरो मुख लगाउन पो थाल्छन् । यो के ? 

दुई वटा अग्ला अग्ला रूखहरू अघि सरेर गह्रौँ स्वर छर्छन्– “हाम्रो शोभा खै ?”

–“वनविनाश गरिँदै छ र अचेल पनि ?” स्वाभाविक प्रश्न चिप्लन्छ उसको मुखबाट । 

–“विनाश हैन, हाम्रो महिमाको सर्वनाश हुन थाल्यो अब ।”

महिमा भन्दा के बुझाइ आउँछ कुन्नि, उसले झट्ट यताउता हेर्न पुग्छ– “साँच्चै, यस्तो बाक्लो वनमा... कुनै जनावर पनि छैन ? कि भिसा आयो जम्मैलाई एकै पटक ?” 

खुरुरु गुडेर आइपुग्छ रङ्गीचङ्गी जडीबुटी अनि स्वादहीन उच्छ्वास छाड्छ– “तिमीहरूले हाम्रो त संरक्षण गर्न सकेनौँ भने ती जनावरहरूको के गरौँला !”

–“हामीले...?” ऊ बुझ्न खोज्छ । उसले खोज्दा नखोज्दै एउटा रूखले धक्का दिइहाल्छ, सम्भवतः लात हानेको होला । ऊ त फेरि माथिपट्टि हुत्तिन्छ र फेरि हुरीले उसलाई कठालो समातेर त्यहीँ सहरमा बजारिदिन्छ । 

उसलाई बल्ल भोकको अनुभूति हुन्छ । देख्छ, अगाडि घरैघर छन् । जता गए पनि हुने त हो नि । कुनै घरमा कोही पनि नभएपछि आफ्नै न हुने हो । ठान्दै ऊ केही खानेकुरा पाइन्छ कि भनेर एउटा घरभित्र पसिहाल्छ । 

त्यहाँभित्र पनि उही महँगामहँगा सरसामानले सुसज्जित कोठाहरू तर चालचुल केही छैन । खानेकुरा खोज्दै ऊ एउटा कोठामा पुग्छ । ओह ! त्यहाँ एउटा लास पीताम्बर ओढेर खटमा सुतिरहेको देखिन्छ । के अचम्म ! ऊ पुग्नेबित्तिकै खटैसहित लास जुरुक्क उठ्छ । 

उसभित्र डर पनि जुरुक्क उठ्छ । 

लास गर्जन्छ– “मेरो सद्गत गर्ने कोही छ कि छैन ?”

डर मत्थर हुन थालेको अनुभूतिपछि ऊ अनभिज्ञ भइटोपल्छ– “खै त यस घरका मान्छेहरू ?”

–“को ? यस घरका ? के ती मान्छेहरू हुन् जो आफ्नो दायित्वलाई छाडेर भाग्छन् ?” त्यसपछि लास फेरि सुत्छ । 

उसलाई फेरि भोकले अठ्याएको अनुभूत हुन थाल्छ । त्यसै सुरमा अर्को घरमा पस्छ । विद्युतीय सामान बिव्रmी पसल हो कि । महँगा महँगा मोबाइल, कम्प्युटर, फोटोकपी यन्त्र, ल्यापटप राखिएका छन् । 

भोकले थिच्दै गर्दा ऊ केही पाइन्छ कि भनेर त्यहीँ हेर्न थाल्छ । एउटा टेबलमाथि निकै मिठो परिकार देख्छ, उसलाई नै पर्खेर बसिरहे जस्तो । हात लम्काउँछ त झट्ट सानो भएर जान थाल्छ, त्यो त फोटो पो रहेछ जुन एउटा ल्यापटपमा देखिँदै रहेछ । खानेकुरा सानो हुँदै गइरहेको दृश्य देखिँदै छ, ऊचाहिँ के गरूँ के नगरूँको स्थितिमा देखिँदै छ । त्यसै बेला त्यस खानेकुराबाट मसिनो किरण निस्केर उसको छातीमै पर्छ । 

उसले केही बुझ्न नपाउँदै उसभित्रबाट एक जना आकृति फुत्त निस्कन्छ ।

–“ए ! के हो ?” ऊ छक्क पर्छ, दुःखी पनि– कतै मेरो सास त गएन ! 

त्यो खानेकुरा सानो हुने क्रम तीव्र हुँदै गर्दा त्यस आकृतिले च्याप्प समातेर मुखमा कोचिहाल्छ । अनि मुस्काउन थाल्छ । 

त्यो आकृति त्यही ल्यापटपको स्व्रिmनभित्रै पस्छ । 

ऊ हेरेको हे-यै छ । थाहै नपाई उसको मुखबाट बल्ल फ्यास्स चिप्लन्छ– “ए को हौ तिमी हँ ?”

त्यो आकृति दरिलो भएर उत्तर मिल्काउँछ– “म तिम्रै आत्मविश्वास न हुँ ।”

–“हँ ! तिमी मेरो आत्मविश्वास !” ऊ आफ्नो उदेक उप्काउन थाल्छ– “हैन, आज के भइरा’छ मसित ? यता हेर्छु, कोही छैनन् । सहरका सहर रित्ता छन् ।”

उसको कुरा नसकिँदै ल्यापटपको स्व्रिmनमा आत्मविश्वास ‘कुखुरी काँ ! बासी भात खा ।’ को धुनमा गाउन थाल्छ–

–खै यताका मान्छेहरू ?

–विदेशी मुद्रा टिप्न गए ।

–विदेशी मुद्रा नेपाली मुद्राभन्दा ठुलो हो ?

–धेरै भाउको हो ।

–किन धेरै भाउको हो ?

–हाम्रा बाउबाजेले आफ्नो मुद्राको भाउ बढाउन ध्यान नदिएर ।

–खै हाम्रा बाउबाजे ?

–माटोमुनि गए ।

–त्यही माटो खनेर हेरौँ न त । 

आत्मविश्वासले माटो खन्छ पनि । जुरुक्क उठेर फुर्तीसाथ मल वितरककहाँ पुग्छ । त्यहाँ मल मात्र होइन, वितरक पनि देखिँदैन । बरु त्यहाँ उसभन्दा अर्काे ठुलो आकृति देखा पर्छ, जो हाँस्दै वितरण केन्द्रमा ताल्चा लगाउन थाल्छ । आत्मविश्वास केही नबोली फर्कन्छ अनि पातपतिङ्गर बटुलेर खाल्डामा हाल्छ । एकैछिनमा मल बन्छ पनि । आफूले खनेको खेतमा केही बिउ रोप्छ र मल हालिदिन्छ । एकैछिनमा बाली लाग्छ पनि । 

हाँस्दै त्यसले भन्छ– “केको पीर यो रहुन्जेल !” आफ्नो पाखुरी उज्याउँछ अनि बाली काट्न थाल्छ– “आफूलाई पुग्ने जति राखी अरू बेचेर म पनि विदेशी मुद्रा कमाउँछु ।”

एकैछिनमा बालीका थुप्रै बोराहरू बोकेर बाटो लाग्दै गरेको देखिन्छ । त्यसै बेला फेरि त्यही ठुलो आकृति बाटो छेकेर उभिन आइपुग्छ । 

–“मलाई मेरो सामान बेच्न देऊ । किन रोकेको ?”

ठूलो आकृति टसको मस गर्दैन । जति गर्दा पनि नभएपछि आत्मविश्वास अर्काेतिर लाग्छ । 

फाइल बोकेर एउटा कार्यालयमा आत्मविश्वास बोल्दै गरेको देखिन्छ– “यो योजना लागू गर्न दिनुभयो भने हामीकहाँ उत्पादन र रोजगारीको प्रशस्तै सिर्जना हुन्छ ।”

अगाडि टेबलमा मान्छे हैन, मुख मात्र देखिन्छ, आँ... गरिरहेको । त्यसै मुखले सोध्छ– “अनि मेरो भाग कति ?”

–“भाग...?” ऊ अकमकिन्छ । त्यसै बेला त्यो मुख आकृतिमा परिणत हुन्छ । त्यो त...त्यही ठुलो आकृति पो देखिन्छ । 

आत्मविश्वास हार मान्दैन । फेरि यो गर्छ, त्यही ठुलो आकृति पुनः टाङ अड्याउन आइपुग्छ । फेरि त्यो गर्छ, त्यही ठुलो आकृति ढेसिन्छ गजधम्म परेर अगाडि । 

–“अब त अति भो । अत्याचारै गर्न लागिस् ।” झोकमा आत्मविश्वासले त्यस ठुलो आकृतिलाई जमाएर एक मुक्का बजाइदिन्छ । त्यसको दोब्बर मुक्का त्यस आकृतिले पनि आत्मविश्वासलाई फर्काउँछ । अनि त के, दुईबिच युद्ध छेडिन्छ घमासान । हानाहान, एकअर्कालाई पछारापछार पनि कस्तो वेगमा हुन थाल्छ भने दुवै ल्यापटपको स्व्रिmनै फुटालेर बाहिरै आइपुग्छन् । ऊ झस्केर हेर्छ, आफ्नै अगाडि तेस्रो विश्वयुद्ध चल्न थालेको प्रत्यक्ष देख्छ ।

–“आखिर को होस् तँ ?” आत्मविश्वास पनि कराउँछ, ऊ पनि चिच्च्याउँछ ।

भुइँमा आत्मविश्वासलाई पछारेर त्यो आकृति फूर्तिसाथ बोल्छ– “वातावरण हुँ म... ।” 

अनि फेरि आत्मविश्वास र वातावरणबिच युद्ध जारी हुन्छ, मेघ बिजुली नै चम्काउने गरी । थाहा छैन, कसको जित हुनेछ वा हार हुनेछ । 

ऊ भने त्रस्त देखिन्छ, लौ अब के हुने हो !