• १८ वैशाख २०८१, मङ्गलबार

पाश्र्ववर्ती पात्र

blog

समय, घडी–पल या काल यो अनौठो छ । समय व्यतित हुँदै यसका बहुरङ्गी डोबहरू हाम्रो स्मृतिपटमा रङ्गिँदै जान्छन् । त्यो कसरी आयो ? कसरी भयो ? कसरी गयो ? यी यक्षप्रश्नहरू सदा अनुत्तरित छन् । तर एउटा कुरो भने पक्कै हो कि यो रुखो वर्तमानमा विगतमय स्मृतिक्षण सारै मिठा हुन्छन् ।

एउटा सानो गाउँबस्तीमा मेरो बचपनावस्था बित्यो । घरभन्दा अलि पर एउटा खोला र त्यसपछि घना जङ्गल । जङ्गल पछि के... मैले अनुमान लगाउन सकेको थिइनँ । त्यसबेला म सोच्थेँ, “खोला तरेर किनारै किनार हिँड्दै गएँ, एउटा अर्कै संसारमा पुग्ने छु । त्यस्तो सुन्दर ठाउँ जुन मेरी आमाले मलाई निद्रा नलागेको बखत सुनाउने गरेको कथामा उल्लेखित कुनै स्वप्नील स्थल । कता कता मलाई लाग्थ्यो कि त्यो थलो मेरा लागि प्रतीक्षित भई बसेको छ ।

केटोकेटी अवस्थामा चोर–पुलिसको खेल खुब खेलिन्थ्यो । म सधैँ पुलीस बनेर चोर पकड्थेँ । मेरो बालमन प्रहरीको आकर्षक पोसाकमा अल्झेको थियो । तर न्याय क्षेत्रको सुविस्तृत फाँटमा प्रारब्धले मलाई ओरालिदियो । नोकरीको सोपानहरूमा उफ्रिँदै.. उकालिँदै आखिरमा महान्यायाधिवक्ता जस्तो उच्च संवैधानिक पदमा पदासीन भएँ । म जस्तो निम्न मध्यम वर्गीय व्यक्तिका निम्ति त्यो साँच्चै विस्मयजनक चरमोत्कर्ष थियो । सुरुका वर्षमा मैले निकै चुनौतीको सामना गर्नु परेको थियो । कहीँ कतैबाट अपेक्षित सहयोग नभएको अवस्थामा पनि आफ्नै बलबँुतामा ठुला ठुला समस्या निराकरण भएर गए । मानिसको सुयश र अपयशको भागीदार ऊ आफैँमा निहित रहन्छ । प्रचलित कार्याधिकार एवं क्षेत्राधिकारको दायरामा रही गरेका मेरा गहन गम्भीर निर्णय र साथै समयसापेक्ष नीतिपरक कानुनी मस्यौदाहरू पछिका लागि पनि अनुकरणीय नजिरका रूपमा अभिलेख भएको बुझिएको छ । सेवानिवृत्तपश्चात् सम्झिँदा पनि मेरो कार्यकाल अति उत्साहपूर्ण र रोमाञ्चक कालखण्ड भएको मैले बुझेको छु । तथापि एउटा प्रसङ्गले भने मलाई अझै पनि सताइरहन्छ ।

त्यो वेला मैले महान्यायाधिवक्ताको कार्यभार बहन गरेको तृतीय आर्थिक वर्ष चलिरहेको अवस्था थियो । तिथि मितिको मलाई कुनै हेक्का छैन । तर त्यो गृष्मयाम भएको मलाई याद छ । टिफिन आवरपछि कुनै एउटा पुरानो केसफाइल पल्टाउँदै म अल्झिरहेको थिएँ । पिए भित्र आएर उभिरहेको अलि पछि देखेँ । मैले ऊतर्फ प्रश्नसूचक दृष्टिले हेरेँ । “श्रीमान् एउटी महिला भेट्न आउनुभएको छ ।” “नाम ?” उनले चिट दिए । “सुजाता खरेल, सुनसरी ।” म विलखबन्धमा परेँ किनकि त्यो नाउँ मेरा लागि अपरिचित थियो । मैले सम्झने प्रयास गरेँ । विफल भएँ । अनि म बोलेँ “लौ पठाऊ ।” 

भित्ते घडीको सुई तीन पन्ध्रतिर दौडँदै थियो । ढोका नक गर्दै उनी प्रवेश गरिन् । हल्का मुस्कानको कलेवरमा उनले अभिवादन गरिन् । फराकिलो निधार, लाम्चा आँखा, सुलुत्त नाक, घना श्यामकेश राशि, पङ्क्तिबद्ध दन्तलहर, छरितो शरीर, एवं सरल वेशभूषामा एउटी ३२–३३ वर्षीया महिलामा मेरो नजरले बेग्लै आकर्षकता अनुभूत ग¥यो । कुनै झमेलामा परेको कारणले गर्दापरामर्श अर्थात कानुनी उपचारका लागि उनी मकहाँ आएको भन्ने मैले लख काटेँ । सामान्य औपचारिकता र भलाकुसारीपछि मैले सोधेँ, “कुनै कठिनाइ.. समस्या अरू केही छ भने भन्न सक्नु हुन्छ । मैले गर्न सक्ने कुरामा म प्रयत्न गर्ने छु ।” केही क्षण शून्यता छायो । उनले कोठाको चारैतिर आँखा दौडाउँदैरहिन् । म निष्पन्द टोलाइरहेँ । यसैबिच चिया आयो ।

चिया उपरान्त मैले उनीतर्फ अर्थपूर्ण तवरले हेरेँ । आफ्ना कोमल आँखा ममा स्थिर राख्दै उनले भन्न सुरु गरिन्, “आफ्नो अमूल्य समय म जस्तो आम नारीलाई दिनुभएकोमा म कृतज्ञता व्यक्त गर्दछु ।” उनी अडिन् र मैले रिन्तरताको लागि सङ्केत गरेँ । उनले भन्दै गइन् । “मेरो बाल्यकाल सुनसरी जिल्लाको एउटा सानो गाउँमा बित्यो । घरभन्दा अलि टाढाको स्कुलबाट मैले मेरो प्रारम्भिक र माध्यमिक शिक्षा पूरा गरेँ । आजभन्दा १५ वर्षअघि म कक्षा १० मा पढ्दै थिएँ । पढाइ र अतिरिक्त व्रिmयाकलापमा अरूभन्दा तेज भएकाले सबैको नजरमा म सम्मानित थिएँ । वर्षायामको सुरुवात भइसकेको थियो । त्यस्तैमा एक दिन मुसलधारे वर्षा र हुरीबतासको प्रकोप सुरु भयो । स्कुल वरिपरि जलमग्न भएर छुट्टी जनाउ घण्टी लाग्दा पनि धेरै बेरसम्म कक्षाकोठाामै सीमित रह्यौँ । करिब २ घण्टापछि हामी बाहिर निक्लियौँ । केटाहरूको समूह कक्षा कोठामै हल्ला गरेर बसे ।

बाटोमा पर्ने खोलामा बाढी आएर हामीले सधैँ तरेर जाने साँघु पनि बगाएर लगिसकेको थियो । चारैतर्फ एकदम चकमन्न सुनसान भइसकेको हुनाले म नदी किनारामा एक्लै चिन्तामग्न बसिरहेको थिएँ । उग्र बाढीको तीव्रतर गुञ्जनले वारिपारिको निःशब्दतालाई निलिरहेको थियो । 

मण्डारिएर कालो बादल चारैतिर फैलिएर साँझ पर्ला जस्तो भयो । अनेकौँ आशङ्का, अप्रिय तर्कवितर्क र छटपटीको समय सन्धिमा मेरो सहपाठी गोविन्द मैनाली टुप्लुक्क आइपुगे । ढुङ्गा खोज्दा देउता भेटिए झैँ म मा साहस सञ्चालन भएर लामो सास फरेँ । ऊ र म एकै गाउँका छिमेकी थियौँ ।

ऊ सानो छँदा उसकी आमाको मृत्यु भयो । बाल्यावस्थाको कुनै कमी र गडबडीले ऊ खुट्टा अलि खोच्याएर हिँड्थ्यो । बुबा जाँड–रक्सी, तास–जुवामा मग्न र घरमा सौतेनी आमाको गाली र कचकचले गर्दा उसको पढाइ कमजोर हुने नै भयो । स्कुलमा ऊ एउटा कमजोर विद्यार्थीका रूपमा गनिन्थ्यो । यी सबै कुराका बाबजुद पनि ठुलाप्रति आदरभाव र साथीभाइसँग मिलनसार भएको ऊ प्रतीत हुन्थ्यो । त्यसबखत मैले उसलाई नियालेर हेर्ने मौका पाएँ । गोरो वर्ण, सलक्क जिउडाल, गोलो अनुहार, आकर्षक ठुला आँखाभित्र मैले भिन्नै आकर्षण तिरोहित पाएँ । मैले अलि असहज हुँदै बोलेँ “गोविन्द... हेर न साँघु पनि बाढीले लगेछ.. यत्रो उर्लंदो भेलमा एक्लै साहस गर्न सकिनँ ।” उसले सहजै बोल्यो “तिमीलाई पौडिन आउँछ.. नि ? साँझ पनि परिसक्यो र आकाश कालो... निलो भएर गजिँदैछ ।” उसले खोलाका भेलमा आँखा दौडायो । मैले अप्ठ्यारो मान्दै भनेँ, “पोखरीमा त धेरै पौडेकी छु... यो त बगेको खोलो त्यसमा पनि बाढी आएको...।” उसले बिचैमा बोल्यो “डराउनु पर्दैन । हिम्मत गर । म पनि छु नि ..।” डराएको देखेर मलाई पुनः ढाडस दियो । “ल..१, २.. गनौँ र सँगसँगै हामफालौँ बाँकी म सम्हाल्ने छु ।” हामीले त्यसै ग¥यौँ । खोलाको बिचोबिच पानीको वेग बढी भएकाले मलाई साह्रै गाह्रो प-यो । उसले मलाई आड दिई नै रहेको थियो । किनारा पुग्न थोरै बाँकी हुँदै म आँत्तिएर असन्तुलित हुन पुगेछु । उसले मेरो पूरा शरीर सम्हालेर आफूतर्फ तान्यो । मेरो पूरा आलिङ्गन उसमा न्यौछार हुन पुगेछ । “खोलाको किनारा भत्किँदैछ छ.. छिटो गरौँ ।” भन्दै उसले मलाई बोकेर बगरतिर हिँडायो । अलिबेर चेतनाशून्य भएर उसको प्रगाढ पासमा म हराउँदै गएँ । तरुणवयको सुरुवाती अवस्थामा हामी दुवैले आफूलाई नियन्त्रण गर्न असफल भयौँ । खोलाको तुफानी बाढसँगै हाम्रो उर्लंदो मादकता शिथिल हुँदै गयो । परिस्थितिजन्य कारणले गर्दा त्यो सबै भयो जो नहुनु थियो ।

मैले लजाउँदै भने, “तिमी अलि ढिलो गरेर आऊ.. म.. हिँडेँ.. ।” उसले निःशब्द टाउको हल्लायो । म हिँड्न लाग्दा पानी फेरि दर्किन थालिसकेको थियो । म रुझ्दै घर पुग्दा रात परिसकेको थियो । म सरासर आफ्नो कोठामा पुगेकी कसैले चाल पाएनन् । लुगा फेरेर झ्याल खोलेँ । मूलबाटोतर्फ आँखा दौडाउदागोविन्द भिज्दै.. रुझ्दै तर एउटा समर विजयी सैनिक झैँ लमक.. लमक बढ्दै थियो । मेरा आँखाहरूले उसका पाइलाहरू पछ्याइरह्योे... ऊ ओझेल नभएसम्म.. । मैले विस्तारै झ्याल बन्द गरेँ लामो निश्वास लिँदै ।

त्यसपछिको उसका दिनहरूमा निकै परिवर्तन आएको मैले अवलोकन गरेँ । ऊ मसँग खुलेर बोल्न र नआएको पाठ सोध्ने गर्न थाल्यो । कक्षा र अतिरिक्त व्रिmयाकलापहरूमा उसको सहभागिता बढ्दै गइरहेको सबैले अनुभव गरेँ । खाली समयमा हामी मज्जासँग विविध विषयका कुराकानी गरेर रमाउँथ्यौँ । प्रायः मैले उसलाई प्रेरित गर्दै भन्ने गर्थें, “तिमी मैले सोचेभन्दा बढी मेहनती रहेछौ । वार्षिक परीक्षामा तिमी सजिलै राम्रो अङ्कमा पास हुन्छौ ।” मेरो कुरा सुनेर ऊ मुस्कुराउँथ्यो तर केही बोल्दैनथ्यो ।

हाम्रो बढिरहेको हेलमेल देखेर केही केटाहरूलाई सह्य भएको थिएन । एक दिन स्कुलबाट घर फर्किंदै गर्दा एउटा ग्रुपले हामीलाई पछ्याइरहेको थियो । एक जना हुल्याहा केटाले गोविन्दलाई छिर्के लगाउँदा ऊ भूईमा पछारियो । मैले रिस थाम्न नसकेर केटालाई एक झापड दिएँ । ऊ रन्थनिँदै बोल्यो “तँ को होस् यसको.. यो लङ्गडाको हिरोइन होस् ?” मैले तुरुन्त जवाफ दिएँ, “हो.. गोविन्द मेरो हिरो हो.. तँलाई के मतलब ।” ऊ नाजवाफ भएर बाटो ततायो । म प्रधानाध्यापकको छोरी भएको कारणले होला खुला रूपले कसैले बोल्न सकेनन् ।

एवं रीतले सबै कुरा आशानुकूल चलिरह्यो । एसएलसी परीक्षा आयो ..गयो । हामी दुवै विशिष्ट श्रेणीमा उत्तीर्ण भयौँ । ऊ राम्रै पढन्ते भइसकेको थियो । +२ पढ्न हामीसँगै विराटनगर गयौँ । म सानीआमाको घरमा बसेँ । उसको आर्थिक स्थिति कमजोर भएको कुरा ममा छिपेको थिएन । मेरो टाढाको नातेदारको घरमा उनीहरूका केटाकेटीहरूलाई ट्युसन पढाउने सर्तमा उसको खाने बस्ने सुविधा मिलाइदिएकी थिएँ । भाग्य संयोगले दुई महिनापछि नजिकैको प्राइमरी स्कुलमा बिहानी सत्र पढाउने शिक्षकको विज्ञापन भएको जानकारी मलाई हुँदा दरखास्त हाल्न प्रेरित गरेँ । सो पदको अन्तर्वार्ताको निम्ति हामीले राम्रै अभ्यास ग¥यौँ । अन्तर्वार्ताको दिन उसको लुगामा आइरन, जुत्तामा टिलिक्क पालिस र आकर्षक रूपमा केशविन्यास मिलाइदिएँ । “तिम्रो सफलता पक्का छ । तिम्रा लागि यो गुडलक उपहार” भनेर टाई लगाइदिएर चिटिक्क पारिदिँदा उसको आँखामा न्यानो आद्रता मैले स्पष्ट देखेँ । ऊ विस्तारै बोल्यो । ‘थ्यान्क यु ।’ त्यहाँ पनि ऊ सफल भयो । त्यसपछि ऊ आर्थिक अभावबाट पूरै मुक्त भयो । दिनहरू झन उत्साहवर्धक रूपमा दोडिरहेका थिए । हामीले +२ विशिष्ट श्रेणीमा पास ग¥यौँ । बिएससी सकेर विज्ञान शिक्षक बन्ने उसले भावी योजना बनाएको रहेछ । मैले उसलाई वैदेशिक इन्जिनियरिङ छात्रवृत्तिको लागि पहल गर्न कर गरेँ । उसले मन मारेर भन्दै थियो, “खै कसरी सकिएला र हामी गाउँले विपन्न विद्यार्थीलाई कसले पत्याउला र ?” मैले धेरै कर गरेँ । “हेर, दिएर के बिग्रन्छ र... अरू पनि हामी जस्तै त हुन्... । तिमीले अवश्य सक्छौँ ।” त्यसपछि ऊ एकदम मिठोसँग मुस्कुराएको थियो ।

मेरो अन्तर्वार्ताएक हप्ताअघि भइसकेको थियो । उसको अन्तर्वार्ताको दिन ऊ नर्मस देखिन्थ्यो । अन्तर्वार्तास्थलसम्म उसलाई सम्झाउँदै म पनि गएँ । मुख्यद्वारमा प्रवेश गर्नु अधि मैले उसको बायाँ हत्केलालाइमेरो बायाँ हत्केलामा राखेर मेरो दायाँ हत्केलाले विस्तारै दबाए अनि आँखामा आँखा जोड्दै बोलेँ, “तिमी अवश्य सफल हुन्छौँ । अल द बेस्ट ।” उसको अनुहार दिप्त भएको मैले अनुभव गरेँ त्यसबेला । यसरी मैले भारत र उसले जर्मनीको छात्रवृत्ति पाउन सफल भयौँ । यसरी हामी दुवैले उच्च अध्ययन उत्कृष्टताकासाथ सम्पन्न गरेका थियौ । हाल ऊ एउटा प्रतिष्ठित संस्थामा प्रमुख कार्यकारी अधिकृत भएर उच्च जीवनशैलीमा निमग्न छ । मैले पनि आफ्नो शिक्षाको अधिकतम उपयोग गरिरहेकी छु । मैले हजुरलाई सुनाउन चाहेको वृत्तान्त यति नै हो ।” सुजाताले पूर्ण विराम लिइन् । 

कुनै जीवन्त कथा झैँ म एकाग्र सुनिरहेको थिएँ । अचानक म ब्युउँझिँए जस्ते भएँ । “बडो प्रेरणादायी आत्मवृत्तान्त सुन्दा म साँच्चै प्रभावित भएको छु । तपाईंको जन्मजात गुणप्रति म सहृदय कदर गर्न चाहन्छु ।” उनले उत्साहित भएर बोलिन्, “यो सबै गुण मेरा बाआमाबाट प्राप्त संस्कार हुन् ।” मेले थपेँ, “एउटा सफल पुरुष एउटा असल महिलाद्वारा नै लक्षविन्दुमा पुग्छ भन्ने कुराको यो ज्वलन्त नमुना हो । उनले फ्याट्ट बोलिन्, “महिलाको सरसहयोगबिना पनि त पुरुषहरूले आफ्ना सबै काम कर्तव्य व्यवस्थापन गरेका छैनन् र ? मैले सहजै भनेँ, “महिलाहरूको सहयोगबिना सामान्य दिनचर्या र जीवनयापन हुन सक्ला तर ठुला ठुला उपलब्धिहरू प्राप्त गर्न सम्भव देखिँदैन ।”

“तपाईंको सबै सफलताको हकमा पनि यो लागु भएको छ त ?” मैले तुरुन्त जवाफ दिएँ, “निःसन्देह, म मात्र होइन संसारका सबै पुरुष जातिका हकमा यो शतप्रतिशत लागु भएको छ ।” उनी प्रफुल्लित भएर भनिन्, “हजुरको कार्यपद्धति एवं सफल क्षमताबारे मैले सुनेको आज प्रत्यक्ष साक्षात्कार भयो ।” उनी एकछिन गम्भीर भएर विस्तारै बोलिन्, “यसर्थ, हजुरकहाँ एउटा कुराको प्रत्याशा लिएर आएको छु ।” 

म गदगद हुँदै बोलेँ, “भन्नुहोस्, मबाट हुने कुरा रहेछ भने म गर्छु ।”

“मलाई अलि अप्ठ्यारो महसुस भइरहेको छ ।” उनको स्वर दुविधायुक्त थियो । “मैले कर गरेँ, “निसङ्कोच भन्नुहोस् ।”

उनले भन्दै गइन्, “मेरो व्यक्तिगत कुनै माग छैन । वास्तवमा ती पौरखी पुरुषहरू जसले आफ्ना पत्नीको (वा महिला सहकर्मीको वा प्रेयसीको) प्रत्यक्ष या अप्रत्यक्ष सहयोग, सद्भाव, प्रेरणा, विचार, सद्बुद्धि आदि कुरालाई आआफ्नो विधाको ज्ञानमा प्रयोग गर्दै समाजलाई उत्कृष्टतातर्फ दिशानिर्देश गरेका छन्, उनीहरूकाति सहयोगी हातहरूलाई म उजागर गर्न चाहन्छु ।” मेरो मगज सनन्न भयो । “मैले स्पष्ट बुझ्न सकिन.. के भन्न खोज्नुभएको..।” उनले प्रतिपश्न गरिन्, “के म हजुरबाटै सुरु गर्न सक्छु ।” मैले टाउको हल्लाएर सहमति जनाएँ । 

उनले निरन्तरता दिइन्, “महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेर हजुरले देशमा आइपरेका केही जटिल र पेचिला कानुनी सवालहरू प्रभावकारी ढङ्गबाट निकास दिनुभयो । जसले गर्दा यो देशमा दिगो शान्ति र सुव्यवस्था स्थापनाका लागि तपाईंको सोच एउटा कोसेढुङ्गा साबित भएको छर्लङ्ग छ । त्यसको फलस्वरूप राज्यले तपाईंलाई राम्रो सम्मान ग¥यो । विभिन्न सङ्घ–संस्थाहरूले मान सम्मान, अलङ्कार र अभिनन्दन गरे । तर यी सारा उपलब्धिमा कहीँकतै तपाईंकी सहकर्मी पत्नीको प्रशंसा कतै देखिएन । जब कि उहाँको सहयोगबिना यो सम्भव नभएको स्वयं तपाईंले स्वीकार गरिसक्नुभएको छ ।” म स्तब्ध भएँ । उनको अनुहार मध्य दिनको सूर्य झैँ ज्वाज्वल्यमान देखिन्थ्यो ।

त्यो मेरा लागि साँच्चै मिष्ठ व्यङ्ग्य पस्किए जस्तै भएको थियो । उनी बोल्दै गइन्, “उहाँले सम्पूर्ण जीवनपर्यन्त तपाईंलाई पु¥याएको प्रेरणात्मक एवं बौद्धिक सहयोग वास्तवमा तपाईं, घरपरिवारलाई मात्र नभई सम्पूर्ण देशलाई हो । 

मेरो भन्नुको मतलब निचोडमा के हो भने किङ मेकरको भूमिका खेल्ने महिलाहरूले पाश्र्वस्थानमा रहेर पु-याएको सेवाको कपिराइट अर्थात् अग्राधिकार पाउनुपर्ने मान्यताको कानुनी प्रावधान राज्यले सुरक्षित गरिदिनु पर्छ । खराब कार्यको निम्ति दण्ड र असलका लागि पुरस्कार दिने परिपाटीको जिकिर हो मेरो भन्नु ।” 

एकपल्ट निःशब्दता छायो । पिएले ढोका खोल्दै बोले, “श्रीमान् पाँच बज्नै लाग्यो... हजुरलाई सम्झाउँन आएको...।” मैले ऊतर्फ नफर्की बोलेँ, “एकछिन पख ।” मेरो ढाड गले झैँ भयो । जुरुक्क उठेँ । पुनः बसेँ । मैले भन्न सुरु गरेँ, “जुन कुराको उठान तपाईंले यहाँ गर्नु भयो.. सबै गहन र गम्भीर रूपमा लिन सकिन्छ । यो वास्तवमा सर्वस्वीकार्य भए तापनि व्यवहारतः कठिन, पेचिलो.. ।” मैले वाक्य नै पूर्ण गर्न सकिनँ । अत्यन्त शिथिलता महसुस भयो मलाई ।

“मेरो कुरा सुनिदिनुभएकोमा हार्दिक धन्यवाद । म उमिद गर्छु कि तपार्इंले यो मुद्दालाई यथोचित तवरले सम्बोधन गर्नु हुनेछ । म अहिले जान्छु !” मेरो मानसिक नैराश्यतालाई मैले सम्हाल्न नपाउँदै उनले हात जोड्दै बिदा मागिन् । 

किंकर्तव्यविमुखको मनस्थितिमा उभिँदै मैले पनि प्रतिउत्तरमा हात जोडेँ । 

अपराजिता भएर मेरो कार्यकक्षबाट सुजाता बाहिरिएको त्यो दृश्य अझै पनि मेरो संस्मरणमा बारम्बार आइरहन्छ !