सिराज खान
नेपालगन्ज, माघ ११ गते । स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी कोहलपुर–१२, चप्परगौडीकी शारदा शर्माले गाईपालनबाट वार्षिक छ लाख बढी आम्दानी गरिरहनुभएको छ । ३८ वर्षीय शर्माले सञ्चालन गर्नुभएको सिर्जनशील गाई फार्म बाँके जिल्लाकै उत्कृष्ट गाई फार्मको रूपमा परिचित हुन सफल भएको छ ।
उहाँले १८ वर्षअघि १५ हजार रुपियाँको लगानीमा सुरु गरेको गाई फार्म आज जिल्लाकै नमुना फार्मका रूपमा स्थापित हुन सफल भएकोमा आफूलाई निकै खुसी लागेको र गरे के हुँदैन भन्ने कुरा प्रमाणितसमेत भएको बताउनुभयो ।
सुरुमा एउटा उन्नत गाई किनेर गाईपालन सुरु गर्न‘भएको शारदाले ३२ वटासम्म गाई पुर्याउन सफल हुनुभएको थियो । शारदाको फार्ममा अहिले १६ वटा गाई छन् । त्यसमध्ये सात वटा दुहुना, पाँच वटा गाभिन, एक बाच्छो र चार बाच्छी छन् । २८ वटा गाई यो बिचमा बिक्री गरेको उहाँले बताउनुभयो । अहिले शारदाले प्रतिदिन ७० लिटरसम्म दुध बेच्नुहुन्छ । उहाँको एउटै गाईले बिहान बेलुका गरेर २७ लिटरसम्म दुध दिने गरेको उहाँ बताउनुहुन्छ ।
भारतको आसाममा रोजगारीका क्रममा रहनुभएका आफ्ना पितालाई १८ वर्षअघि देशमै केही गरौँ भनी कन्भिन्स गरेर फर्किएको र त्यसलगत्तै गाईपालन सुरु गरेको उहाँ बताउनुहुन्छ ।
गाईपालन सुरु गर्दा धेरै दिन नटिक्ने भनी खिल्ली उडाउनेहरू पनि आफू गाईपालनमा सफल भएपछि गाई पाल्ने तरिका सोध्न आउन थालेको उहाँ बताउनुहुन्छ । आफ्नो जमिनले नपुगेर उहाँले नजिकै रहेको छिमेकी वडामा जमिन भाडामा लिएर पनि घाँस लगाउनुभएको छ ।
गाईपालनको आम्दानीबाट चप्परगौडीमा घर बनाएको, भाइहरूले र आफूले पनि स्नातकोत्तरसम्मको अध्ययन गरेको, बर्दियामा दुई बिघा जग्गा किनेको, कोहलपुरको एनटिभी रोडमा घडेरी किनेको र एक भाईको विवाह सम्पन्न गरेको उहाँ बताउनुहुन्छ ।
गाईपालन व्यवसायलाई राम्रो ढङ्गले अघि बढाएपछि विभिन्न सरकारी निकायले पनि सहयोग र प्रोत्साहन गरेको उहाँको भनाइ छ ।
सरकारले जिल्ला पशुसेवा कार्यालयमार्फत २०७० सालमा युवालक्षित कार्यक्रम अन्तर्गत दुई लाख रुपियाँ अनुदान दिएको थियो भने पशु प्रजनन केन्द्रले गोठ सुधारका लागि २० हजार रुपियाँ दिएर उहाँलाई प्रोत्साहित गरेको छ । गाईलाई खुवाउने घाँसका बिउहरू नियमित रूपमा पशु सेवा कार्यालयले घरसम्मै ल्याएर दिने गरेको शारदाको भनाइ छ ।