• २५ वैशाख २०८१, मङ्गलबार

डिजेल आयात अठार प्रतिशतले घट्यो

blog

काठमाडौँ, माघ ११ गते । बजारमा डिजेलको खपतमा कमी आएको छ । आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ । 

नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो । 

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिनुभयो । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उहाँको भनाइ छ । 

विकास निर्माणको काममा डिजेलको खपत बढी हुने गरेकोमा गत वर्षदेखि आर्थिक सङ्कटका कारण तीव्र गतिमा काम हुन सकेको छैन । जसको कारणले गर्दा पनि डिजेलको खपतमा कमी आएको हो । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारी साधनमा बढी प्रयोग हुने गर्छ । औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशतले डिजेल खपत हुने गरेको छ । पछिल्लो समय बिजुलीका सवारीसाधनको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा कमी आएको हो । 

 सामान्य अवस्थामा एक लाख ४० हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा हाल घटेर मासिक ९४ हजार ४०५ किलोलिटरमा झरेको छ । 

यस्तै पेट्रोलको खपत भने दुई प्रतिशतले बढेर तीन लाख १५ हजार ५६ किलोलिटर पुगेको छ । हाल मासिक बजारमा ५७ हजार २८२ किलोलिटर खपत हुने गरेको छ । हवाई इन्धनको खपत भने ९.१४ प्रतिशतले बढेर ८६ हजार ७२४ किलोलिटर पुगेको छ । हाल मासिक हवाई इन्धनको खपत १५ हजार ७६८ किलोलिटर रहेको छ । मटितेलको खपत भने २१.६१ प्रतिशतले घटेर चार हजार ६७२ किलोलिटर रहेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य एक प्रतिशतले घटेर दुई लाख ३६ हजार ३७९ मेट्रिक टन आयात भएको छ । 

निगमका अनुसार छ महिनामा एक खर्ब १५ अर्ब २१ करोड ५८ लाख ५१ हजार रुपियाँको कुल पेट्रोलियम पदार्थ आयात ( डिजेल, मटितेल, पेट्रोल, ग्यास हवाई इन्धन) इन्धन आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब ४६ अर्ब ७६ करोड ४५ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । 

हाल बजारमा पेट्रोल प्रतिलिटर १६३, डिजेल प्रतिलिटर १५५ हवाई इन्धन प्रतिलिटर १३० रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ८९५ रुपियाँ रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्थानीय बजारमा समेत मूल्य घटेको छ ।  

इन्धन आयातबाट एकाउन्न अर्ब राजस्व सङ्कलन

यसैबिच छ महिनामा निगमले ११ लाख ६२ हजार किलोलिटर इन्धन आयात गरेर ५१ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । इन्धन आयातबापत विभिन्न शीर्षकमा ५१ अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन भएको हो ।  

इन्धन आयात गरी भन्सार नाकामा राजस्व सङ्कलन गरी सरकारी खातामा रकम जम्मा हुने गरेको छ । निगमले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्क, मूल्य स्थिरीकरण कोषमा उपभोक्ताबाट कर असुल्ने गरेको छ । पूर्वाधार करबापत डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपियाँ सङ्कलन हुने गर्छ । 

सडक मर्मत दस्तुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेल प्रतिलिटरमा दुई रुपियाँ सङ्कलन हुने गर्छ । वातावरण शुल्कबापत डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ५० पैसा सङ्कलन हुने गर्छ । विभिन्न शीर्षकमा लगाएको करका कारण उपभोक्तालाई थप महँगो पर्ने गरेको छ ।