• १३ साउन २०८१, आइतबार

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

blog

मतदान केन्द्रको निरीक्षणका क्रममा सुरक्षा निकाय प्रमुखहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, माघ १० गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी पूरा भएको हो । 

मतदान केन्द्र निर्माण, कर्मचारी व्यवस्थापन, सुरक्षा व्यवस्थासँगै मतगणनाका लागि हलको समेत व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि घोराही उपमहानगरपालिका –१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गनमा व्यवस्था गरिएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । 

मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ । ‘राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत तोक्ने, मतदान केन्द्र निर्माणसँगै सुरक्षाको तयारी पूरा भएको छ’ निर्वाचनअधिकृत पाण्डेयले भन्नुभयोे, ‘मतदान केन्द्रहरुको जिल्लास्थित सुरक्षा निकायबाट अनुगमनको काम समेत भएको छ ।’ 

निर्वाचनका लागि कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र (क) मा जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरे र मतदान केन्द्र (ख) मा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानालाई मतदान अधिकृत तोकिएको छ । निर्वाचनका लागि एउटा मतदान केन्द्रमा १० जनाका दरले दुई वटा मतदान केन्द्रमा २० जना कर्मचारी खटाइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय मिलाइएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुन लागेको छ । जसअन्तर्गत लुम्बिनीमा महिला र एक अन्य रिक्त पदमा निर्वाचन हुन लागेको हो । 

दुई सिटका लागि ६ जना उम्मेदवार हुनुहुन्छ । जसमा गठबन्धनको तर्फबाट कांग्रेसबाट गुल्मी निवासी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रबाट रोल्पा निवासी झक्कुप्रसाद सुवेदी उम्मेदवार रहनुभएको छ ।

त्यसैगरी नेकपा (एमाले) का तर्फबाट दाङ निवासी तुलसा केसी र पाल्पा निवासी झपेन्द्रबहादुर घर्ती, राप्रपाबाट रुपन्देही निवासी विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । निर्वाचनमा लुम्बिनी प्रदेशका एकसय ९ स्थानीय तहका दुईसय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्य मतदाताका रुपमा रहनुभएको छ ।