• १५ वैशाख २०८१, शनिबार

सेतो मच्छिन्द्रनाथको साजसज्जा

blog

सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को साजसज्जा गर्नुहुँदै मूल पुजारी । तस्बिर ः मनोजरत्न शाही

काठमाडौं, माघ ११ गते । सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको हो । प्रत्येक वर्ष चन्द्रमासको तेस्रो महिनामा अर्थात् पुसको सप्तमीका दिन शोभाभगवतीस्थित भचाखुसीबाट ल्या अष्टमीमा आर्यावलाेकितेश्वरलाई महास्नान गराइन्छ । महास्नानपश्चात् नवमीबाट मूर्तिलाई रङरोगन तथा साजसज्जा गर्ने गरिन्छ । 

नवमीमा मूर्तिलाई मन्दिर परिसरको दायाँ भागमा राखेर रङरोगन  गरिन्छ भने दशमीका दिन मन्दिरको अर्को भागमा राखेर मूर्तिलाई आकृति दिने काम हुने सेतो मच्छिन्द्रनाथ मन्दिरका पुजारीले जानकारी दिनुभयो । मन्दिरका मूल पुजारीबाट अहिले रङरोगन गरिरहनुभएको छ त्यसको रेखदेख र निर्देशन भने नरेन्द्र चित्रकारले गरिरहनुभएको छ । 

चित्रकारका अनुसार महास्नानपछि मूर्तिमा असर पर्ने र मूर्तिमा कोरिएका आकृतिको रङ बगेर जाने भएकाले पुनः सजाउने गरिन्छ । विशेष गरेर ६ प्रकारका रङ मूर्तिलाई सजाउन प्रयोग गरिन्छ । ‘रङरोगन गर्ने कार्य पूर्णिमाको दिनमा सकेर भगवानको मूर्तिलाई पुरानो आकृतिमा ल्याएर मन्दिरमा पुनःस्थापना गरिन्छ’, उहाँले जानकारी दिनुभयो । धार्मिक मान्यता अनुसार आउँदो पूर्णिमासम्म रङरोगनका सम्पूर्ण कार्य सम्पन्न भएर सोही दिन दशकर्म पूजा गरिन्छ । दशकर्म गरेपछि मूर्तिलाई पुनः आसनमा राखिन्छ । 

नेवार समुदायमा एक पुरुष र नारीलाई जीवन अवधिमा गरिने सबै कर्म दशकर्ममा गर्ने गरिन्छ । मूर्तिमा रङरोगन गर्न मूल पूजारीले गर्ने मान्यता अनुसार चित्रकारले दिएको निर्देशनमा रङ भर्ने गरिन्छ । चित्रकारका अनुसार आर्यावलोकितेश्वरको मुख्य मूर्ति रक्तचन्दनबाट बनेको छ । त्यसलाई बचाउनका लागि श्रीखण्ड लिपेर राखेको छ भने सबैभन्दा बाहिरी भागमा ढलोट गरेर मूर्तिको सुरक्षा गरिएको छ ।  



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।