• १३ साउन २०८१, आइतबार

यु–१९ विश्वकप क्रिकेट : नेपालले दियो पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य

blog

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपालका गुलशन झा । तस्बिर : क्यान

काठमाडौँ, माघ १० गते । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई जितको लागि एक सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । 

इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनायो । 

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाउनुभयो   

बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिनुभयो । अहमेद हुसेन र उवइद शाहले दुई दुई तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसान एक एक विकेट लिनुभयो । 

समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह चरण पार गर्न पाकिस्तानविरुद्धको खेल महत्त्वपूर्ण रहेको छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तान भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । 

यु–१९ क्रिकेटमा यसअघि नेपाल र पाकिस्तानबिच दुई पटक प्रतिस्पर्धा भएको छ । सन् २००२ मा भएको भेटमा नेपाल ३० रनले विजयी भएको हो । सन् २०१६ मा भएको पछिल्लो भिडन्तमा पाकिस्तान एक सय २२ रनले विजयी भएको थियो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा दुई जित निकालेको न्युजिल्यान्ड चार अङ्कसहित शीर्षस्थानमा छ । एक खेल जितेको पाकिस्तान दुई अङ्कसहित दोस्रो स्थानमा छ ।

पहिलो खेलमा हार खेपेको नेपाल र लगातार दुई खेलमा पराजित अफगानिस्तान अङ्कविहीन छ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल जनवरी २६ तारिख अफगानिस्तानसँग खेल्नेछ । विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।